यस्तो छ नेकपाको जनसभाको तयारी



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली काठमाडौंमा आयोजना गर्न लागेको जनसभा भृकुटीमण्डपमा हुने भएको छ । राजधानीको ट्राफिक जाम भएर सर्वसाधारणलाई असर नपरोस् भनेर जनसभा भृकुटीमण्डपमा गर्न लागिएको सो पार्टीले जनाएको छ ।

यसअघि रत्नपार्कस्थित शान्तिवाटीका जनसभाको गर्ने भनिएको थियो । शान्तिवाटीकामा जनसभा गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त हुने भएपछि नेकपाले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

शान्तिवाटीकामा कार्यक्रम गर्दा जमल, बागबजार, वीर अस्तापल, पुरानो बसपार्क हुँदै चल्ने सबै सवारी सधान प्रभावित हुन्छन् । ट्राफिक प्रहरीले पनि शान्तिवाटीकामा कार्यक्रम भए सर्वसाधारणलाई गाह्रो हुने बताउँदै आएको थियो ।

त्यसैगरी सर्वसाधारणले पनि शान्तिवाटीकामा कार्यक्रम नगर्न सुझाव दिएका थिए । सबैको सुझाव र शान्तिवाटिकामा कार्यक्रम गर्दा सर्वसाधारणलाई हैरानी हुने निष्कर्ष निकाल्दै नेकपाले जनसभा भृकुटीमण्डपमा गर्न लागेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिको सवारी हुँदा समेत काठमाडौँमा सडक खाली गरिन्छ । तर, नेकपाले सर्वसाधारणलाई पर्न सक्ने असरलाई ध्यानमा राखेर पूर्वनिर्धारित कार्यक्रम स्थल नै परिवर्तन गरेको छ ।

कार्यक्रलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने छन् । त्यस्तै नेकपा ९माले०का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलाई पनि जनसभालाई सम्बोधन गर्न निम्ता दिइएको छ ।

जनसभाको अध्यक्षता नेकपा केन्द्रिय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्ने बताइएको छ । जनसभमा सहभागी सबैलाई स्वागत पोलिट्ब्यूरो सदस्य पदम राईले गर्ने भएका छन् ।

त्यसैगरी नेकपाले काठमाडौंका तीन स्थानबाट केन्द्रिय नेताहरुको नेतृत्वमा र्याली पनि निकाल्ने जानकारी दिएको छ । कालीमाटीबाट सुरूहुने विभिन्न जनजाति, संस्कृतिसहितको जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू मोहन कार्की र कृष्ण धमलाले गर्ने छन् ।

बबरमहलबाट निस्कने जुलुसको नेतृत्व पदम राई, लैनचौरबाट निस्कने जुलुसको नेतत्व नेतृ भुजेलले गर्ने छिन् ।
पूर्वीकमान्डका अन्य केन्द्रिय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रिय नेताहरु कालीमाटी पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने छन् ।

नेकपाले काठमाडौंका विभिन्न ठाउँहरुमा स्वगत गेट, व्यानर, वाल पेन्टिङ पनि गरेको छ । सुरक्षाका कारण पार्टी महासचिव विप्लवले गर्ने भनिएको सभालाई प्रवक्ता प्रकाण्डले गर्ने भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्