अन्ततः पूरा भयो कार्तिकसँग रोमान्स गर्ने साराको सपना



निर्माता तथा निर्देशक करण जोहरको चर्चित टेलिभिजन शो ‘कफि विद करण’ मा  अभिनेत्री सारा अली खानले अभिनेता कार्तिक आर्यनका साथ डेट गर्न चाहेको कुरा बताएकी थिइन् । अहिले उनको यो इच्छा पूरा हुने भएको छ । उनले छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ एक फिल्ममा काम गर्ने अवसर पाउने भएकी छिन् ।

खबरहरुका अनुसार साराले उनको तेस्रो फिल्म साइन गरिसकेकी छिन् । यस फिल्ममा साराको जोडीको रुपमा कार्तिक आर्यन हुनेछन् । इम्तियाज अलीको अब बन्ने फिल्मका लागि सारालाई सम्पर्क गरिएको थियो । जुन फिल्ममा कार्तिक मुख्य भूमिकामा हुनेछन । यस फिल्मका लागि साराले साइन पनि गरिसकेकी छिन् ।

अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ हो जुन अहिले रिलिज हुन बाँकी नै छ । पहिलो फिल्म रिलिज हुनु अगावै साराले ३ वटा फिल्म साइन गरिसकेकी छिन् ।

फिल्म ‘केदारनाथ’ मा साराको जोडीको रुपमा अभिनेता सुशान्त सिंह राजपुत छन् भने उनको दोस्रो फिल्म ‘सिम्बा’ मा सारा रणवीर सिंहका साथ देखिनेछिन् । त्यसैगरी उनी कार्तिक आर्यनका साथ तेस्रो फिल्ममा देखिँदैछिन् ।

केही दिनअघि मात्रै कार्तिकसँग डेट गर्न चाहेको कुरा भनेकी साराले कार्तिकका साथ एउटै फिल्ममा काम गर्ने अवसर पाएपछि उनले त्यो अवसर गुमाउने त कुरै भएन ।

उता कार्तिकलाई हालै एउटा कार्यक्रममा पत्रकारहरुले साराले उनीसँग डेट गर्न चाहेको भन्दै प्रश्न गर्दा कार्तिकले लजाउँदै भनेका थिए, ‘म यस विषयमा के भनौं ? केवल यही भन्न सक्छु कि उनी निकै माया लाग्दी छिन् । म उनको फिल्मको व्यग्र प्रतिक्षा गरिरहेको छु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्