प्रहरीको हत्याका आरोपी महिला पक्राउ



धादिङ, १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।

बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । व्यक्तिगत मोबाइलको कल डिटेलका लागि अदालतसँग स्वीकृति लिनुपर्ने भएकाले अनुसन्धानका लागि केही समय लागेको भए पनि घटनाको अनुसन्धान भइरहेको र छिट्टै अपराधी पत्ता लाग्ने प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । प्रहरी चौकीका प्रमुख बिदामा गएकाले घटना भएको दिनमा गुरुङ नै प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका थिए । हिउँदमा यातायात साधन चल्ने भए पनि बर्खामा हिँडेर पुग्नुपर्ने दार्खा प्रहरी चौकी सदररमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरमा रहेको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्