वडिउड नायिका, यस्ता छन् यिनका विवाह योजना



भारतीय चलचित्र उद्योग बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । चर्चित जोडीहरु धमाधम वैवाहिक सम्वन्ध जोडिरहेका छन् । पछिल्लोपटक अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले ईटलीमा बिहे गरे । यसअघि अभिनेत्रीहरु सोनम कपुर, नेहा धुपिया र अनुष्का शर्माको बिहे भएको थियो ।

चाँडै नै प्रियंका चोपडाले पनि ब्वाईफ्रेन्डसँग लगनगाँठो कस्दैछिन् । उनीहरुको बिहेको मिति सार्वजनिक गरिएको छैन । अब अर्को वर्ष बिहे गर्न सक्ने सेलिब्रिटीहरुको बारेमा चर्चा हुन थालिसकेको छ । यो वर्ष जस्तो बिहेको लहर नआए पनि केही सेलिब्रिटीहरु २०१९ मा घरजम गर्न सक्नेछन् ।

यतिबेला सबैभन्दा चर्चामा रहेको प्रेम जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । उनीहरु करिब एक वर्षदेखि प्रेममा छन् । सार्वजनिक रुपमा स्वीकार नगरे पनि उनीहरुले आफ्नो प्रेम लुकाएका छैनन् । उनीहरुको पारा हेर्दा अर्को वर्ष बिहे गर्न सक्ने अड्कल गरिएको छ । हालै एक अन्तरवार्तामा आलियालाई बिहेको विषयमा सोधिएको थियो ।

उनले सोझो जवाफ दिइनन् । ‘मेरो बिहे हेर्न प्रतिक्षा गर्नुपर्छ’ भन्दै पन्छिइन् । यद्यपि, रणवीर र आलिया दुवैका बाबुआमा छिट्टै उनीहरु श्रीमान–श्रीमती बनेको हेर्न चाहन्छन् । बलिउडका तीन नायिकाहरु उमेर छिप्पिदा पनि बिहे नगरी बसेका छन् । उनीहरु हुन्, तब्बु, अमिषा पटेल र सुष्मिता सेन ।

के अर्को वर्ष उनीहरुको घरजम होला त ? तब्बु ४७ वर्ष भइन् भने अमिषा ४३ र सुष्मिता ४२ वर्षका भए । उनीहरु तीनै जनाको बिहे गर्ने उमेर गुज्रिसकेको छ । तर, कतिपयले उमेर कटेपछि त बिहे गर्छन् । तब्बु र अमिषाको कुरा गर्दा उनीहरुको बिहे गर्ने कुनै छाँटकाँट देखिँदैन । किनभने उनीहरु सिंगल नै छन् ।

सुष्मिता सेनले चाहिँ चाँडै बिहे गर्न सक्ने अनुमान गरिएको छ । त्यसो त उनी बिहे नगरे पनि आमा बनिसकेकी छन् । उनले दुई छोरीहरु गोंद लिएकी छन् । पछिल्लो समयमा सुष्मिताको नाम १५ वर्ष कान्छा रोहमन शलसँग जोडिएको छ । रोहमन कश्मिरी युवक हुन् । उनी नैनितालमा बस्छन् । सुष्मिता र रोहमनले अर्को वर्ष बिहे गर्ने तयारी गरेको बुझिन्छ ।

अविवाहित नायिकाहरुमध्ये सोनाक्षी सिन्हा पनि प्रेममा छिन् । उनी आफ्ना प्रेमी बन्टी सचदेवसँग अर्को वर्ष बिहे गर्ने सोचमा छिन् । सोनाक्षीको उमेर ३० कटिसकेको छ । बन्टी सलमानका र्भाइ सोहेल खानकी पत्नी सीमा सचदेवका भाई हुन् । अन्य अविवाहित नायिकाहरुमा कट्रिना कैफ, कंगना रनावत, परिणिती चोपडा, श्रद्धा कपुर लगायत छन् ।

उनीहरुले अर्को वर्ष बिहे गरिहाल्ने सम्भावना छैन । ३७ वर्षकी कट्रिना अहिले सिंगल छिन् । उनी पहिले सलमान खानसँग प्रेममा थिइन् । अहिले फेरि उनीहरु एक–अर्कासँग नजिकिएका छन् । फेरि रिप्याच हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । पछिल्लो समय दुवै एकअर्कालाई प्रशंसा गर्दै हिँडिरहेका हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्