गोपाललाई किन जेल हालेको ? भन्दै प्रचण्डलाई जनसेना कमाण्डरले दिए यस्तो चुनौती



आदरणीय प्रचण्ड कामरेड अभिवादन । जनयुद्दको उद्गम थलो रोल्पाबाट तपाँईलाई आज एउटा पत्र कोर्दै छु । सर्वप्रथम मेरो परिचय तपाँई समक्ष राख्न चाहन्छु ।

मेरो नाम टिकाराम वली हो । जनयुद्ध बेला मलाई पार्टीले ‘टाइगर्र उपनाम’ दियो । म २०५४ सालमा माओवादी जनयुद्धमा भूमिगत भएको थिएँ ।

भूमिगत हुँदा देखि नै जनमिलिसियामा भर्ती भएको थिए । अर्थात जनयुद्धको सिपाही हुँदा नै जनमुक्ति सेना बनेको हुँ । युद्धका विभिन्न मोर्चाहरु गरि ५२ वटा लडाईका मोर्चामा प्रत्यक्ष सहभागी भएको छु ।

पाँचौ ब्रिगेड अन्तर्गत स्पेसल टाक्स फोर्स १ नम्बर बटालियन कमान्डर थिए ‘म ।

अहिले म घाइते पनि छु । सल्यान श्रीगनर लडाईमा टाउकोमा गोली लागेको थियो । अझै त्यही गोली बोकेर मृत्यु पर्खेर बसिरहेको छु । टाउकोबाट गोली झिक्न नमिल्ने अवस्थामा छु । सेना समायोजन हुँदा अवकास प्राप्त गरी वाइसिएलको जिम्मेवारी लिएको थिएँ ।

जनयुद्दका महान योद्धा किमबहादुर थापा कमरेड सुनिलको सहादत भएको रोल्पा जिनाबाको मनिमारे नजिकै मेरो घर छ । सिंगो जनयुद्धलाई पाल्ने कामरेड किरण अर्थात् भर्खरै पक्राउ परेका गोपाल चन्दको घर पनि त्यही नजिकै छ । पत्रकार गोपाल चन्दका बाबा हुन् कामरेड किरण । यत्ति परिचय दिएपछि सायद तपाईले मलाई चिन्नु भयो होला ।

अहिले मेरो हालत कस्तो छ र हिजोको मेरो इतिहास के थियो भन्ने बारे आगामी दिनमा बिस्तार गरौंला । खासै म मिडियाबाजी गर्दै हिड्ने मान्छे पनि हैन ।

पत्रकार गोपाल चन्द तपाईको गृहमन्नत्री रामबहादुर थापा बादलको आदेशमा प्रकाउ भएको खबर पाए पछी मुख खोल्नै पर्ने भयो । तीनै प्रकाउ परेका पत्रकार गोपाल चन्द र उनको परिवारले जनयुद्धमा गरेको त्याग तपस्या बारे अवगत गराउन चाहन्छु ।

एउटा उखान छ, जुन थालीमा खाना खाइयो त्यही थालीमा दिशा गर्ने मानिसको अहंकारी प्रवृति हो । ठ्याक्कै त्यही प्रवृती तपाँईमा देखेर, तीनै सिंगो जनयुद्धलाई सेल्टर दिने परिवारको सदस्यलाई आज सत्तामा पुगिसके पछी हत्कडी भिराई जेलनेल गरेको देख्दा म टुलुटुलु हेरेर बस्न सक्दैन ।

हिजो संकटकालमा तपाईले तिनै पत्रकार गोपाल चन्दको घरमा सेल्टर लिनु भएको थियो । त्यही घर परिवारको परिचय गराउन चाहन्छु ।

रोल्पा जिल्लाको तत्कालिन जिनाबा गाबिस अहिले गंगादेव गाउपालिका ३ पर्छ । सल्यान गुराँसे बस्तीसँग जोडिएको झ्याम डाँडा छ । जुन ठाउँमा जनयुद्धका कैंयौ मोर्चा सम्हाल्दा तपाँईले धेरै पटक त्यो ठाउँमा सेल्टर लिएर बस्नु भएको पनि हो ।

तपाँईलाइ अवगत हुनुपर्छ, तत्कालिन शाहीसेनाले सल्यान गुराँसेको भिडन्त पछी गुराँसेको सम्पूर्ण बस्ती जलाएर खरानी बनाएको थियो । जुन बेला म पनि प्रत्यक्ष गुराँसे लडाईमा थिए । त्यही नजिकै झ्याम डाँडामा चुडामणि ओली कमरेड आदर्शको घर छ ।

तीनै कामरेड आदर्शको घरदेखि तल झारमंग्रा भन्ने ठाउँ छ । जहाँ माहुरीका घारहरुले घेरिएका स–साना झुप्राहरु छन । त्यहाँ प्राकृतिक माहुरी पालन हुन्छ किन कि बाह्र जथाकको घना जंगल भएको हुँदा माहुरी पालन सजिलो भएको हो । त्यही ? ठाउँमा क्षेत्र बहादुर चन्द कामरेड किरणको सानो झुपडी थियो, अहिले पनि छ ।

त्यही झुपडीमा केवल ४ जनाको सानो परिवार थियो । कामरेड किरण उहाँको पत्नी र साना दुईजना बालबालिका ।

तिनै बालबालिका मध्यका छोरा हुन गोपाल चन्द । उनकी बहिनी गीता चन्द हुन् । उनीहरु अहिले जवान भएका छन् ।

तपाँई अहिले राजधानीमा ब्यापारी ठेकेदारको घरमा घाँटी जोडेर मार्सी भात खानुहुन्छ । उनीहरुलाई खान लाउनलाई अझै धौ–धौ (समस्या) पर्छ तर जेनतेन काठमाडौंमै पढ्दैछन् ।

भक्तपुरमा बसेर तीनै संघर्ष गरिरहेका गोपाल चन्द जनपक्षीय पत्रकारिता गर्छन् । सायद नेताहरुको पक्षमा नलेख्नु अर्थात् सिंहदरबारको पक्षमा कलम नचलाउनु, अझ भनांै कमरेड प्रचण्डको पक्षमा कलम नचलाउनु उनको महागल्ती हो । तिनै जनयुद्धमा त्याग तपस्या गरेका बालक अहिले प्रचण्ड कामरेडको समाचार लेख्दा हत्कडी भिरेर हिरासतमा छन् ।

जतिबेला उनको घर सिंगो जनयुद्दको सेल्टर थियो । त्यही बेला उनका मामा खकेन्द्र ओली जनयुद्धमै सहिद भएका थिए । कपुरकोटको लडाईमा आफ्नै कान्छा मामाको सहादत भयो ।
आफ्नो घर सेल्टर दिएर जनयुद्दको रक्षा गर्ने त्यही परिवारको सदस्यलाई जेलमा कोच्नु भएछ । सकिन्छ भने अब झुन्ड्याई दिनु होला ! हिजो कलम चलाएकै भरमा इक्छुक पनि मारिएका थिए ।

त्यही तपाईँलाई सेल्टर दिएर बचाउने परिवारको बारे बुझाउन चाहन्छु ।

जब जनयुद्ध सुरु भयो, प्रतिक्रियावादी राज्य सत्ताले जनयुद्ध सिध्याउन हरेक तानावाना बुने । त्यही बेला जनयुद्धका केन्द्रिय नेतादेखि सामान्य कार्यकर्ता सम्मलाई सेल्टर दिएर संरक्षण दिने घर परिवार मध्ये रोल्पाको चन्द परिवार पनि एक हो । नपत्याए त्यहाँको समाजलाई गएर सोध्नु होला, समाजले देखेको कुरा बताई दिने छ ।

उनको घरमा प्रचण्ड २०५६ र ५७ सालतिर सेल्टर लिएर पनि बस्नु भएको थियो । बाबुराम, पोष्ट बहादुर बोगटी देखि जनयुद्धका चर्चित नेताहरुले सेल्टर नलिएको सायदै कोही नहोलान । एक पटक होइन पटकपटक !

हालका मन्त्री बर्षमान पुनका श्रीमती तथा पुर्व सभामुख ओनसरी घर्ती ‘उषा’ सुत्केरी हुँदा चन्द परिवारले नै संरक्षण गरेर राखेको थियो । आफ्नो छोरी जन्मिदा २०५५ र ५६ सालमा सुत्केरी ओनसरी घर्तीलाई छोरी बुहारी बनाएर लालन पालन गरेको हो पत्रकार गोपाल चन्द परिवारले ।

उनकी छोरी सायद अहिले ठूली भइन होली । तिनैलाई पिठ्यूँमा बोकेर सम्हाल्ने पहिलो दाजु तिनै गोपाल चन्द हुन् । म त भन्छु जन्मदा गोधमा बोकेर माया दिने दाजु गोपाल चन्दलाई भेटेर छोरीले आशीर्वाद ग्रहण गरे, जीवन मार्गमा सकारात्मक सोच पलाउने छ ।

ओनसरी घर्ती ज्यूले सुत्केरी हुँदा चन्दको घरमा कयौं रातहरु गुजारेकी थिइन् । प्रहरी आउँदा उनको नावालिकालाई सुरक्षा दिएर ओनसरी घर्तीलाई जंगल भगाएर सुरक्षा गरेका दृश्यहरु ताजै छन् , त्यहाँको जनता जनार्दनलाई थाहा छ । सायद यो गुणलाई ओनसरी घर्तीले कसरी बुझ्नु भएको छ उहाँलाई नै थाहा होला, कि त मन्त्री बर्षमान पुनलाई थाहा होला ।

जब म २०५८ फागुन ६ गते सल्यान श्रीनगर प्रहरी चौकी रेड गर्दा घाइते भए । तव ६ महिना सम्म तीनै पत्रकार गोपाल चन्दको घरमा सेल्टर लिएर बसेको थिए ।

मलाई ६ महिनासम्म परिवारले सेवा गरेको मैले बिर्सेको छैन । गोलीे लागेर छटपटाई रहेका मेरा घाउहरुमा मलम पट्टी लगाई दिने जनयुद्धको घर थियो । म मात्र होइन म जस्ता कैयांै घाइते अपांगलाई संरक्षण सुरक्षा र सेवा दिएको छ उनको घरपरिवारले ।

२०५७ सालमा उपक्षेत्रीय ब्युरोको बैठक बस्ने कतै पनि सेल्टर नपाउँदा तिनै गोपाल चन्दको घरमा बैठक बसेको थियो । जुनबेला प्रहरी प्रसासन तथा सुराकीहरुको बिगबिगी थियो ।

नेता तथा कार्यकर्ताहरुलाई सेल्टर दिएको शाहीसेनाले थाहा पाउँदा २०५७ मै सल्यान जिल्लाबाट आएको शाहीसेनाको टोलीले उनको घर आगो लगाई दिएको थियो । जुन बेला ५०० भन्दा धेरै नेता तथा कार्यकर्ता उनको घरमा सेल्टर लिएर बसेका थिए ।

शाहीसेनाले थाहा पाएपछि उक्त घरमा आउदा सबै जङ्गल भागेर बचेका थिए तर तिनै ७–८ बर्षका नाबालक गोपाल चन्दले साहास पूर्वक आगो लागिरहेको आफ्नो घरलाई पानी हालेर बचाएका थिए ।

जुनबेला उनी र बहिनी गीता चन्द मात्रै घरमा थिए । शाहीसेनाले आगो लगाउँदा जलेको घरको निसानी अझै भेट्न सकिन्छ ।

यसरी समग्र जनयुद्ध र जनयुद्धका नेता, कार्यकर्ता, घाइते सेना, जनयुद्धका सुत्केरीहरुलाई सेल्टर दिएर सिंगो जनयुद्दको रक्षा गर्ने उनको पुरानो घर उस्तै यथावत छ, अझै फेरिएको छैन । बरु थोत्रिएको छ ।

प्रचण्ड कामरेडको महल छ तर उनको परिवार अझै उही पुरानो थोत्रिएको घरमा बास छ ।

अब भन्नुहोस कामरेड के यस्तो हविगतको पीडा त्यो घर परिवारलाई छैन होला ? सानो बालापन मै घरमा आगो लागेर जल्दै गर्दा, जल्दै गरेको घर बचाउने त्यो बालक गोपाल चन्दको मन स्थिर होला त ?

आखिर युद्धमा सर्वस्व गुमाएर के पायो त्यो परिवारले ? उनका बाबा क्षेत्रबहादुर चन्द ‘किरण’ २०४८ साल देखि राजनीतिमा लागेका थिए । २०५४ साल देखि प्यूठानमा सरुवा भएर बाहिर जिल्लामै १० बर्षे राजनीतिक जीवन गुजारे ।

आदरणीय कामरेड प्रचण्ड ।

पत्रकार गोपाल चन्दको परिवारले जनयुद्धलाई दिएको त्याग तपस्या र योगदानको बखान जति गर्यो उति कम हुन्छ । उनको परिवारले जनयुद्धको लागि कति त्याग र समर्पण गर्यो भन्ने कुरा उनको घर वरिपरि रहेको समाजले बताउने छ ।

वास्तवमा तपाँईको नेतृत्वको जनयुद्धलाई जोगाउन अहोरात्र त्याग तपस्या गरेर, जनयुद्धलाई सुरक्षित राजधानीमा अवतरण गराउने परिवार मध्ये चन्द परिवार पनि एक हो । फलस्वरुप आज आउँदा तपाई सिङ्गो देशको दुई–दुई पटक प्रधानमन्त्री हुनुभयो । छोरीलाई चितवनमा मेयर बनाउनु भयो । बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाउनु भयो । तर जनयुद्धको सेल्टर घरले के पायो ? जेल र नेल हैन ?

अहिले दुइतिहाइ बहुमतको सरकार र पार्टीको अध्यक्षमा विराजमान गराउन यो परिवारको अहम भूमिका थियो तर तिनै परिवारको सदस्य पत्रकार गोपाल चन्दले तपाईबारे समाचार साभार गरेर लेख्दा किन जेल हाल्नु भयो ? उनको घरपरिवारलाई एकपटक हेर्नुहोला । कुन दुःख र संघर्ष गरेर जीविका उपार्जन गर्दैछन । कामरेड किरणले जनयुद्दको जर्जरपूर्ण अवस्थालाई छिचोल्दै, छोरा गोपाल चन्दलाई गाउँकै सामान्य स्कुलमा पढाएर १० कक्षा पास गराए । अहिले काठमाडौंमा जसोतसो दुःखगरी अध्यन गर्दैछन । उनिीसँग रोजगार छैन । बेरोजगार युवा काठमाडौंमा बसेर पढ्न कति कठिन छ । त्यो सबै भन्दा तपाँईलाई नै थाहा छ ।

तिनै पत्रकार गोपाल चन्दलाई समाचार लेखेको आरोपमा हिरासतमा हाल्नुपर्ने तपाँईको कुन नैतिकता हो कमरेड ?
सत्ता र शक्ति आफ्नो हातमा आएपछि सिङ्गो जनयुद्धलाई संरक्षण दिने परिवारमाथि नै जेलनेल गर्ने कुन नैतिकताले तपाँईलाई दियो ?

म अहिले पनि टाउकोमा गोली बोकी मृत्यु पर्खेर बसेको छु । मैले विभिन्न मोर्चामा गरी ५२ वटा लडाईमा प्रत्यक्ष सहभागी भएको छु । खासगरी अहिलेसम्म तपाइँ बारे ‘म’ मौनतामा थिए । मिडियाबाजी गरेर कँही कतै बोलिन । बरु हजुरको राज्य सत्तालाई मौनताको पर्दा पछाडिबाट चुपचाप नियालेर हेरिरहें ।

तपाईमाथि के के प्रहार प्रयास भए भन्ने विषय सत्य छ भन्ने कुरा म जगजाहेर गर्न चाहन्छु. त्यो कसरी भने ?

प्रचण्डका बारेमा पूर्वाग्रही समाचार लेखेको आरोप लागेका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द । हाल उनलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ ।

तपाँईको जनयुद्धकालको जीवनशैली बारे म नजिकबाट जानकार छु । किन कि कैयांैपटक तपाँईको सुरक्षाको लागि घेरादिएर अहोरात्र कालारातहरु कटाएको सिपाही हुँ । म मर्न चाहेर पनि तपाँईलाई बचाउन एकमुठी प्राण हत्केलामा राखेर मृत्युसँग सौदाबाजी गरेको छु ।

रोल्पामा सिस्नो ढिडो खाएर बाँचेको तपाइको जिन्दगी हो । कठोर संघर्ष गरेर जनयुद्धको नेतृत्व गरेको योद्धा हो ।

तर तपाँईको आजको जीवनशैली पनि मैले गज्जबले नियाली रहेको छु । मैले मात्र होइन दुनियाँले नियाली रहेको छ । म जस्ता जनमुक्ति सेनालाई बेचेर तपाँईले खाएकै हो । १७ हजार शहिदको रगतको अवमूल्यन तपाईले गरेकै हो । जनयुद्ध प्रतिघात भएकै हो । यत्ति भन्न नपाउने ?

फलस्वरूप पदम कुँवरले तपाँईको गालामा झापट दिएको कुरामा दुनियाँ जानकार छ । तपाई माथि धारेहातहरु कैयांै पटक प्रहार भैरहेका छन् ।

त्यसकारण म भन्छु, अब प्रचण्डलाई के–के प्रहार हुन्छन त्यो सामान्य कुरा हो । यो सब तपाँईको आजको जीवनशैलीले निम्त्याएका घटना परिघटनाहरु हुन् ।

आज ‘प्रचण्ड माथि पूर्वकार्यकर्ताले के–के प्रहार प्रयास गरे भन्ने समाचार कतैबाट साभार गर्दा जनयुद्ध बचाई राख्ने परिवारको पत्रकार गोपाल चन्दलाई हिरासतमा राख्नु भयो । यसको परिणाम भयानक हुनसक्छ ।

जेलनेलले कमल रोकिंदैन ! आस्थाहरु कहिलै मर्दैनन ! यो त तपाँईले सिकाएको रक्तबीज हो । बरु समाचार लेख्दैमा गोपालहरुलाई झुण्ड्याउनु होस् । गद्दारीको हिसाब किताब खोज्न सयौं गोपालहरु जन्मिने छन् ।

अन्तमा यो देशमा कानुन भन्ने चिज छ कि छैन ? समाचार प्रसारण गर्नु झुटो थियो भने पनि कानुन र प्रक्रिया अन्तर्गत सजाय दिने ब्यबस्थामाथि किन ठाडो हस्क्षेप गर्दैछ तपाईको गृहमन्त्रालय ?

बादलको निर्देशनमा नाङ्गो हस्तक्षेप गरेर किन गिरफ्तार गराउनु भयो ? के गोपाल राष्ट्रघाती, नदीनाला बेच्ने अपराधि हुन् ? कि निर्मला पन्तको हत्यामा सामेल छन् ?

निर्मलाको न्याय दिन निदाउने तपाईको प्रसासकले समाचार लेख्ने पत्रकारलाई किन पक्राउ गर्यो ? कम्युनिष्ट सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि किन अंकुश लगाउने काम भयो ? प्रचण्ड कामरेडले संविधानमा लेखिएको कानुनलाई किन दुरुपयोग गर्नु भयो ?

पत्रकारको मुद्धा हेर्ने निकाय प्रेस काउन्सिल छँदैछ, उक्त प्रक्रिया मिचेर सिधै प्रहरीद्वारा गिरफ्तारगरी हत्कडी सहित हिरासतमा राख्ने अधिकार तपाँईको कुन कानुनको पानामा उल्लेख छ ?

सत्ता शक्तिको दुरुपयोग गर्न तपाँईलाई कसरी छुट भयो ? यो कुरापनि यादराख्नु होला ! निरंकुशताको पराकाष्ठा तपाँईकै गलपासो हुने निश्चित छ । बेलैमा चेतना भया ……

लेखक : पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर हुन्  
साभारःपोष्टपाटी डटकम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्