अन्तर्राष्ट्रिय

भारतमा रेलमार्गबाट वर्षेनी हजारौं बालबालिका हराउने गरेको तथ्य सार्वजनिक

By थाहा अनलाइन

August 01, 2017

सैघाली खबर ,साउन १७

भारतमा रेल मार्गबाट बार्षिक हजारौं बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ । संरक्षक नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संबेदनशिल विषयका रुपमा लिनु पर्ने उल्लेख गरिएको छ । पूर्वी भारतको कलकत्तामा पर्ने सेल्डाह रेल मार्गबाट बालबालिकाहरु अपहरित हुने क्रम बढेको पाइएको हो । भारतको सबैभन्दा बढी व्यस्त मध्येको एक र देशव्यापी फैलिएको रेल मार्गबाट सन् २०११ मा १५ हजार दुई सय ८४ जना बालबालिका हराएका बताइएको छ । सन् २०१५ मा रेल, रेलमार्ग र रेलस्टेशन वरपरबाट ४१ हजार आठ सय ९३ जना बालबालिका हराएको प्रतिवेदनमा उल्लेख छ । गरिबीका र पारिवारिक हिंसाका कारण सेल्दाह रेल स्टेशन वरपर पुग्ने गरेका र केही समय त्यहाँ बसेपछि उनीहरू त्यहाँबाट हराउने गरेको प्रतिवेदनमा दावी गरिएको छ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।