दाङ । गृह मन्त्रालयले शुक्रबार ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । जस अन्तरगत दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको पनि सरुवा भएको छ । श्रेष्ठको दाङबाट गोरखा सरुवा भएको हो । रौतहटका गोविन्द रिजाललाई दाङको प्रमुख जिल्ला अधिकारीका रुपमा गहृमन्त्रालयले पठाएको छ । मन्त्रालयले एकैपटक पर्सा, रौतहट, गोरखा, दाङ, अर्घाखाँची र मनाङका प्रजिअहरुको हेरफेर गरेको हो । पर्सामा नारायण भट्टराईलाई पठाइएको छ भट्टराई यसअघि गोरखामा कार्यरत थिए । पर्साका लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।
गृहका अनुसार अर्घाखाँचीमा प्रेमलाल लामिछाने र मनाङमा रुद्रनाथ देवकोटालाई पठाइएको छ । अर्घाखाँचीका खिमराज भुसाललाई अध्यागमन विभाग तथा मनाङका हरिप्रसाद पन्तलाई गृह मन्त्रालय सरुवा गरिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील जिल्ला पनि कामु सिडिओकै भरमा चलेका छन् । सिरहा, सप्तरी, महोत्तरी, बारा, नवलपरासी, बर्दियालगायत जिल्ला सुरक्षामा संवेदनशील मानिन्छन् । तर, यी जिल्लामा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ नै छ ।
गृहले सुरक्षा संवेदनशीलताकै आधारमा विभिन्न जिल्लाका सिडिओमा सहसचिवको दरबन्दी कायम गरेको थियो । तर, लामो समय उपसचिवलाई जिम्मेवारी दिँदा शान्तिसुरक्षालगायतमा असर पुग्न सक्ने गृहका अधिकारीहरूको चिन्ता छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।