रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो ।
बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ । समाचारमा लेखिएअनुसार होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ ।
नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो ।
तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएको थियो । त्यसपछि झन् शेयर सदस्यहरुबीच विवाद बढेको समाचारमा उल्लेख छ ।
‘यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्रान्डमा चलाउनका लागि दुबई इन्टरनेशनल फाइनान्सीयल सेन्टरको मध्यस्थता खोजेको थियो । सेन्टरले पनि यसरी अगाडि बढेमा होटल फाइदामा जाने बताएको थियो तर त्यो कार्यान्वयन हुन सकेन,’ समाचारमा लेखिएको छ । ‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो ।
पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।