सैघाली खबर
दाङ साउन,१८
केही दिन यता राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका विरामीहरुको संख्यामा वृद्धि भएको छ । बर्षायाम संगै आँखामा भाईरल, व्याकटेरीया संक्रमण बढेको राप्ती आँखा अस्पतालमा नेत्रअधिकृत शालिकराम गौतमले जानकारी दिएका छन । आँखा रातो हुने, चिलाउने, विजाउने, घाममा हेर्न नसक्ने लक्षणहरु भएका विरामीहरु अस्पतालमा आउने गरेको गौतमले जानकारी दिएका छन ।
हाल भाइरल, व्याकटेरीया संक्रमण भएका दैनिक दुई सय बढी आँखाका विरामीहरु अस्पतालमा आउने गरेको उनले बताए । भाइरलले गर्दा आँखा रातो हुने चिलाउने विजाउने घाममा आँखा हेर्न नमिल्ने समस्या हुने भन्दै यस बाट बच्न रोगीले प्रयोग गरेको औषधि साधारण ब्यक्तिले प्रयोग नगर्ने, रोगीले प्रयोग गरेको रुमाल तथा टवेल प्रयोग नगर्ने, संक्रमण भएको आँखामा औषधि प्रयोग गरीसकेपछि साबुन पानीने हात धुने, आँखा सफा राख्ने र समयमै आँखा अस्पतालमा आई उपचार गराउन अस्पतालले जनाएको छ ।
नेत्र अधिकृत गौतमले भने – अहिले आँखामा भाइरल र व्याकटेरीया संक्रमण देखिएको छ, समयमै उपचार नगरे आँखाको ज्योति समेत गुम्न सक्ने खतरा रहेको छ । ’ त्यसका लागि आँखामा समस्या देखिन वितीकै नजिकको आँखा अस्पतालमा उपचारका लागि जान उनको सुझाव रहेको छ । साथै यस्ता रोगीहरुको आँखा सन्चो हुन हप्ता दुई हप्ता सम्म पनि लाग्ने भन्दै नआतिन र नियमीत औषधी प्रयोग गर्न उनको आग्रह गरे । हाल अस्पतालमा दैनिक ४ सय बढि विरामीहरु आउने गरेकोमा दुई सय बढी आँखा पाक्ने रोगका विरामीहरु आउने गरेका छन ।
त्यसैगरी भाइरल संक्रमण र व्याकटेरीयल संक्रमण भएका विरामीहरुले आफुखुसी औषधि प्रयोग गरी ढिला आँखा अस्पतालमा उपचारका लागि आउने गरेका कारण आँखामा घाउ समेत हुने गरेको र यो रोग निको हुन धेरै समय लाग्ने भएकोले समयमै उपचार गर्न अस्पतालले सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।