मुख्य समाचार

भरतपुरमा चुनावको तयारी, दलहरु आन्तरिक रणनीतिमा

By थाहा अनलाइन

August 02, 2017

सैघाली खबर   काठमाडौं साउन, १८

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पर्सी हुने मतदानका लागि आजदेखि तयारी सुरु भएको छ । उम्मेदवारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा हिजो अपराह्न भएको सर्वदलीय बैठकपछि मतदानको मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेसहितको टोलीले निर्वाचन हुने वडा नम्बर १९ को वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गरेको थियो । मतदानको मिति तय हुँदै गर्दा उता राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् । पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेका छन् । भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र गन्न बाँकी रहेको वडा नम्बर २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याउनु भएको छ भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।