फोटामा हेर्नुस् मध्यपश्चिमको सुन्दरता



१३ फोटामा हेर्नुस् मध्यपश्चिमको सुन्दरता

भाषा, साहित्य, सांस्कृतिक, प्राकृतिक हिसाबले मात्र नभएर ऐतिहासिक रुपले पनि निकै धनी छ मध्यपश्चिम। नेपाली भाषामा लेखिएको पहिलो अभिलेख, नेपाली भाषाको उद्गम थलो, राज्यको सबैभन्दा ठूलो ताल, राज्यको सबैभन्दा गहिरो ताल, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान लगायतको विविध संगमस्थल हो मध्यपश्चिम।

यति मात्र नभएर सबैभन्दा उच्च स्थानमा रहेको सदुरमुकाम हुम्लाको सिमीकोट, एसियाकै नमुना पुल कर्णाली चिसापानीको पुल तथा एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ साथै ज्वालाहरूको क्षेत्र दैलेख लगायतको स्थल हो मध्यपश्चिम।

भरतबन्धु थापाले खिचेका  तस्विरमा हेर्नुस् मध्यपश्चिम

दैलेख


दैलेख पादुका

दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो। अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ। त्यस्तै, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटीला पञ्चतिर्थस्थल पनि दैलेखमै छ। विश्व सम्पदामा सूचिकृति हुनका लागि ‘क’ वर्गमा परेको भूर्तिका बाइस देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्बा यहाँका पर्यटकीय स्थल हुन्। मारुनी, गर्रा, दमाह, हुड्के, पैसरीजस्ता मौलिक नाचहरूले यहाँको संस्कृतिलाई पनि जीवन्त राखेको छ।

नाभिस्थान ज्वाला

सुर्खेत

सुर्खेत मध्यपश्चिमको सदरमुकाम। मानसरोवर, डोल्पा, रारा, जुम्लालगायत मध्यपश्चिमका पर्यटकीय केन्द्रको ‘गेट वे’। सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ। सुर्खेतमा गढी, देउती बज्यै, बुलबुले ताल र घण्टाघर लगायतका पर्यटकीय स्थल छन्। सुर्खेत विमानस्थलको क्षमता अभिबृद्धि गर्न सके यहाँ पनि पर्यटकीय गतिविधि बढ्ने आश गर्न सकिन्छ। भेरी नदीमा भर्खरै सुरु भएको र्‍याफ्टिङ र परीक्षण उडानमा सीमित प्याराग्लाइडिङलाई व्यवसायिक बनाउन सके त्यसले पर्यटकीय चहलपहल बढाउने छ।

बाँके


बाँके पश्चिम नेपालको प्रवेशद्वार हो। बाँकेमा नेपालको एकमात्र जुँगे महादेव, वागेश्वरी मन्दिर, वाटर पार्क र मिनी जु (चिडियाखाना) रहेको छ। पश्चिम नेपालका पर्यटकीय स्थल फोक्सुण्डो ताल, रारा ताल, मानसरोवर, शुक्लाफाँटा वन्यजन्तु आरक्षण, बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रुपमा परिचित छ। बाँके संस्कृतिको हिसाबले थारु, क्षेत्री, ब्राह्मण, मुस्लिमलगायत हिमालबाट बसोबास सरेका समुदायहरूको स्थानको रुपमा समेत प्रख्यात छ।

बर्दिया


बर्दिया राष्ट्रिय निकुञ्ज समग्र मध्यपश्चिमकै पहिचान हो। निकुञ्जकै कारण यहाँ बाक्लो संख्यामा पर्यटक पुग्छन्। पाटे बाघ हेर्न कहलिएको ठाउँ हो बर्दिया राष्ट्रिय निकुञ्ज। निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडा लगायत ४ सय ६७ प्रजातिका चरा छन्। गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ। निकुञ्जमा चित्तल, बाह्रसिंगा, रतुवा, लघुना र जरायो गरी ५ प्रकारका हरिण पाइन्छ। बर्दिया नेपालको एकमात्र दुर्लभ कृष्णसार संरक्षित क्षेत्र हो।

जाजरकोट

जाजरकोट प्राकृतिक स्रोत साधनले धनी जिल्ला हो। तर, प्रचार–प्रसारको अभावमा अहिले पनि यसले पुरानै सशस्त्र द्वन्द्वले थङ्थिलो भएको र विपन्न जिल्लाको परिचय संगाली रहेको छ। प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट। अमूल्य जडीबुटी, निरन्तर बगिरहेको भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ। भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यवसायिक रुप लिन अझै लामो समय लिनेछ।

मुगु


रारा ताल
रारा, मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। ताल पुग्न जति गाह्रो छ, पुगेपछि पाइने स्वर्गीय आनन्दको कल्पना मात्रै पनि मिठो हुन्छ। ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराई रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ। हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ। समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिनछिनमा पानीको रङ परिवर्तन हुनु हो। यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ।

हुम्ला


सिमिकोट, हुम्ला
हिन्दूहरुको तिर्थस्थलका रुपमा प्रख्यात मानसरोवर जाने प्रमुख स्थान हो यो। समुन्द्री सतहबाट २ हजार ९ सय मिटरमा उचाइमा छ सदरमुमा सिमिकोट। यो जिल्ला कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडबुटी, ताल तथा मनोरम दृष्यहरुको थलो पनि हो। तरपनि  हुम्ला निश्चित पर्यटकको मात्रै गन्तव्य स्थल बनिरहेको छ। हवाइ सेवा नियमित र भाडा दर कम भए यहाँको पर्यटकीय संभावना बढ्ने देखिन्छ।

जुम्ला


चन्दनाथ मन्दिर

वरिपरी हिमाल, बीचको समथर भूभागमा गुजुमुज्ज घरहरू। बस्तीको मध्य स्थानमा चन्दनाथ मन्दिर। नजिकै बगिरहेको तिला नदी, यो हो जुम्लाको स्वरुप। संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला हो, जुम्ला। यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो। सदरमुकाम भएकाले पनि जुम्ला कर्णाली अञ्चलका पाँच जिल्ला मध्ये सुगममा पर्छ।

जुम्ला रारा तालजाने प्रमुख स्थल पनि हो। जुम्लामा काञ्जिरोवा, पातारासी, वाक्की जस्ता हिमाल, पञ्च देवल, तातोपानी, पाण्डु गुफा, विराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथमन्दिर,कनकासुन्दरी मन्दिर हेर्न लायक छन्।

सिञ्जा, जुम्ला

डोल्पा


फोक्सुण्डो ताल

सफा, शान्त र निर्मल पानी। छिनछिनमा पानीको रंग परिवर्तन भइरहने। कहिले गाढा निलो, कहिले मलिन हरियो। देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डोको चरित्र हो यो। तालको अलि पर सानो रिग्मो गाउँ, जहाँ पर्यटकका लागि बनाएका केही होटल छन्। नजिकै सेनाको सानो टुकुडी बाहेक बस्ती छैन। एरिक भ्यालीको चलचित्र ‘क्याराभान’ र अमृत गुरुङको गीत ‘सा–कर्णाली’ले डोल्पाको परिचय बाहिर ल्याएपछि त्यहाँ आन्तरिक र बाह्य पर्यटक बढेका छन्। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि पनि प्रसिद्ध छ।

कालिकोट

कर्णाली राजमार्ग मुख्यनाका रहेको कालिकोटको क्षेत्रफल १७४१ वर्ग किमी रहेको छ। कालिकोट जैविक विविधता, जडीबुटी तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो। जसमा महिला ६५८३० र पुरुषको जनसंख्या ६४५२६ देखिन्छ। कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीकागाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ।

प्यूठान


स्वर्गद्वारी

प्यूठानको स्वर्गद्वारी, जसको प्रसिद्धि नेपालभन्दा भारतमा बढी छ। वर्षेनी लाखौं भारतीय नागरिक यहाँ पुग्छन्। विशेषगरी माघे संक्रान्तिका दिन यहाँ भारतीय तथा नेपाली भक्तजनको घुँइचो लाग्छ। समुन्द्री सतहबाट २१२१ मिटर उचाईमा रहेको स्वर्गद्वारीबाट माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमाल देख्न पाइन्छ।

रोल्पा

रोल्पाको जलजलाक्षेत्र समुन्द्री सतहबाट करिब ३१०० मिटरमा पर्छ। जहाँबाट सिस्ने, डोग्रा, पुथाु, धौलागिरीलगायतका हिमाल देखिन्छ। नौरङ्गी फूलहरूले रोल्पाका वनहरू ढकमक्क हुन्छन्।  कुभिण्डे दह, खैरावाङ र छत्रेश्वरी मन्दिर यहाँका स्थानीय पर्यटकीय स्थल हुन्। तीनवटै जिल्लामा मनाइने भुमे र नचारु पर्व तथा मयुर नाचले स्थानीय कला–संस्कृतिलाई जिवन्त राखिरहेको छ।

रुकुम

रुकुमको सदरमुकाम चौरझारी हो। धार्मिक तथा जडीबुटीका हिसाबले निकै प्रख्यात रहेको छ। रुकुमको स्यार्पुताल, कमल ताल पर्यटकीय हिसाबले निकै प्रख्यात रहेका छन्। त्यस्तै साईकुमारी भगवती र कालिका मन्दिर, बराह मन्दिर रुकुमका चर्चित धार्मिक स्थलहरू हुन्। रुकुमको सिस्ने हिमाल पनि एक प्रमुख आर्कषण हो। मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ। रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानिय पर्यटकीय स्थल हुन्। यहाँ बहुमूल्य जडिबुटी यार्चागुम्बा पाइन्छ। 

सल्यान

परम्परागत कृषि पेशामा आधारित रहेको सल्यानमा नेपालकै उत्कृष्ट खुकुरी निमार्णका रुपले प्रख्यात रहेको छ। जातीय हिसाबले पनि यहाँ विविधता रहेको पाइन्छ। विशेषगरी बाहुन, क्षेत्री, मगर, कामी, दमाई तथा नेवार समुदायको बहुल्यता यस क्षेत्रमा रहेको छ। कुपुण्डे दह यहाँको धार्मिकस्थलको रुपले प्रसिद्ध रहेको छ। यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन्।

दाङ


जखेरा ताल दाङ

दाङ एसियाकै ठूलो उपत्यका हो। जहाँ कृषि उत्पादनको प्रचुर सम्भावना छ। यहाँ थारु समुदायको बाहुल्यता रहेको छ। दाङको बाह्रकुने दह पहिचानका हिसाबले महत्वपूर्ण भएपनि यो खुम्चिँदै गएको छ। ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व भएपनि दाङमा पर्यटकीय गतिविधि हुन सकेको छैन। स्वर्गद्वारी जाने प्रमुख मार्गको रुपमा पनि परिचित छ दाङ। दाङमा पर्यटकीय सम्भावनाा रहेका गढीलेख, छिल्लीकोट, जुम्लीकोट, बासगढी, बुलबुल्या, सवारीकोटसहित अम्विकेश्वरी मन्दिर, गढीटाकुरा देवस्थल, देवीकोट मन्दिर छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्