एमाले लाग्यो २ नम्वर प्रदेशको चुनावी तयारीमा, कुन जिल्लामा को को नेता पुगे ?



सैघाली खवर
काठमाडौं, १८साउन । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राम्रो जनमत पाएको प्रमुख विपक्षी दल नेकपा एमालेले अब तेस्रो चरणको स्थानीय चुनावको तयारीका लागि संविधान बोकेर एमाले २ नम्बर प्रदेशमा लागेको छ ।

एमालेलाई चुनौती मानिएको तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने दुई नम्बर प्रदेशमा उसले अहिलेदेखि नै जनमत आफ्नो पक्षमा पार्ने रणनीतिसहित नेताहरुलाई खटाएको हो ।

दुई नम्बर प्रदेशका सिराहा, सप्तरी, मोहत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सामा एमाले केन्द्रीय सचिवालयले शीर्ष नेताहरुलाई चुनावको तयारीमा खटाएको हो ।

संविधान संशोधनको विपक्षमा उभिँदै आएको एमालेले संविधानमा व्यवस्था गरिएका मधेश र मधेशीलगायतको हक अधिकारका बारेमा जानकारी गराउन थालेको छ । बरिष्ठ नेता माधवकुमार नेपाल केही दिन यता आफ्नो गृह जिल्ला रौतहटमा बसेर संविधानले विभेद नगरेको भन्दै मधेशी समुदायलाई बुझाउँदै हिँडेका छन् । संविधान साथमा लिएर हिँडेका उनले केही दल र नेताहरुले संविधानले विभेद गरेको भन्दै अफवाह फैलाएको आरोप लगाएका छन् ।

मधेशवादी दल र कांग्रेस तथा माओवादी केन्द्रले संविधान संशोधनको बहानामा मुलुकमा अस्थिरता ल्याउन खोजेको भन्दै चर्को आलोचना गरेको एमाले संविधान बोकेर चुनाव प्रचारका लागि तराई झरेको हो । प्रदेश नम्बर २ को वीरगञ्ज, जनकपुर र लहानमा केन्द्रीय सचिवालय खोलेर एमालेले आठ जिल्लामा चुनावी रणनीति बनाउन लागेको हो ।

कुन नेता कुन जिल्लामा

तेस्रो चरणको स्थानीय तह चुनावमा पनि मधेशबाट राम्रो जनमत ल्याउने रणनीतिसहित एमालेले महासचिव ईश्वर पोखरेलको कमाण्डमा पार्टी पदाधिकारीहरुलाई २ नम्बर प्रदेशका आठ जिल्लामा खटाएको छ ।

महासचिव पोखरेलले वीरगञ्जमा बसेर चुनावी रणनीति बनाउँदै पर्सा जिल्ला हेर्नेछन् । यस्तै उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतहटमा खटिने एमालेले जनाएको छ ।

यसैगरी सचिवहरु गोकर्ण विष्ट सर्लाही, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी, भीम आचार्य सप्तरी, प्रदिप ज्ञवाली सिराहामा खटिनेछन् ।

यसका अलावामा २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरीलगायतका नेताहरु पनि चुनावी तयारीमा खटिरहेका बताइएको छ ।

एमालेले चुनाव लक्षित विभिन्न कार्यक्रममा मधेशका विभिन्न जिल्लामा तय गरिसकेको छ । उक्त कार्यक्रमहरुका पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

तराईमा पनि आफ्नो राम्रो पकड र उपस्थिति रहेको देखाउन खोजेको एमालेले चुनावी परिणाम आफ्नो पक्षमा पार्न राम्रो स्थान दिएर प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराउनेसम्मको रणनीति लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्