नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्र गठन



काठमाडौँ, १९ साउन । नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आज आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सचिव बैरागीले उक्त संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गर्ने बताउँदै राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने जानकारी दिनुभयो ।

नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्राष्ट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा मुखरित गर्दैै सहकार्य गरिरहेका उहाँले बताउनुभयो ।

मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायतास्वरुप उपलब्ध गराएको स्मरण गर्दै उहाँले मोरक्कोलाई अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

राजदूत मल्लिकीले आफ्नो मुलुक वैभवशाली नभए पनि मित्र मुलुकलाई समस्या परेका बेला सधैँ सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने बताउनुभयो ।

सो अवसरमा नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत बसन्तकुमार चौधरीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्