पाल्पालीलाई कति प्यारो छ ? आफ्नो संस्कृति



पाल्पा १९ साउन । रामपुर(पाल्पा)। पाल्पाका लोकदोहोरी सम्बद्व कलाकारहरुले स्थानीय कलासंस्कृतिको संरक्षण अभियानमा आफूहरु क्रियाशिलता पूर्वक लाग्ने बताएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन् ।
तानसेन लहरेपिपल स्थित एउटा घरमा भाडामा कोठा लिई संचालन गर्न लागिएको कार्यालयको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण खनाल लेकालीले प्रतिष्ठान सबैको साझा संस्था भएकोले यसको निरन्तरताका लागि सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले नेपाली दोहोरी गायक गायिकाहरु राज्यको सम्पत्ति भएकोले राज्यले उनीहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो । प्रतिष्ठान आवद्ध कुनै कलाकारलाई आपत्कालिन अवस्था आइहालेपनि टुँडिखेलमा पहेलो पछ्यौरा थापेर गीत गाएर चन्दा संकलन गरेर भएपनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका लुम्विनी अञ्चल अध्यक्ष यम पाण्डेले पाल्पाको कौरा, ख्याली, रोइला संरक्षण अभियानमा लाग्न कलाकारहरुलाई आग्रह गर्नुभयो । सोही अवसरमा नेपाली कांग्रेस पाल्पाका उपसभापति कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी, बरिष्ठ पत्रकार मेघराज शर्मा, प्रतिष्ठानका लुम्बिनी अञ्चल सचिव बैकुण्ठ महत, निवर्तमान अध्यक्ष हुम गैरे लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा लोकदोहोरी गीत प्रतिष्ठान पाल्पाका अध्यक्ष ठानु सिंजालीले पाल्पा प्रतिष्ठानमा मात्रै ५ सय जना साधारण सदस्य र १३ जना आजिवन सदस्य रहेको जानकारी दिनुभयो ।
अध्यक्ष सिंजालीले आफूहरुले पहिलोचरण अन्तरगत रामपुरमा भब्य साँस्कृति कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनमा स्थानीय संस्कृतिको संरक्षण सम्वर्धन हुने गरि जिल्लाका अन्य क्षेत्रहरुमा समेत बिभिन्न कार्यक्रमहरु गर्ने बताउनुभयो ।
पाल्पामा जन्मेर हाल नेपाली लोकदोहोरी गायन क्षेत्रमा निकै चर्चामा रहेका कलाकारहरु थुप्रै छन् । नारायण रायमाझी, दुर्गा रायमाझी, लक्ष्मी न्यौपाने, बद्री पंगेनी, शिरिष देवकोटा, नविन पौडेल, इन्द्र जीसी, हुम गैरे लगायतका दोहोरी गायक गायिकाहरु पाल्पामै जन्मेर दोहोरी गायनका क्षेत्रमा देश बिदेशमा चर्चा कमाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्