नेपालमा स्तनपान दर घट्दै



सैघाली खबर,
२० साउन।
नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको पाइएको छ । स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रिने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरूले आफ्नो दुधको सट्टा बजारमा पाइने कृत्रिम दुध खुवाउने प्रवृत्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो । हरेक एक सय जना शिशुमा ५३ जना आमाको दुध खान नपाएर न्यूनपोषण भई मृत्यु हुने गरेको बालस्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको एक हजार दिनभित्र शिशुको ८० प्रतिशत मानसिक विकास हुन्छ, यसबेला आमाको दुधभन्दा पोसिलो चिज अरू केही हुँदैन । बच्चा गर्भमा हुँदाको नौ महिना र जन्मेको दुई वर्षसम्मको अवधिलाई सरकारले सुनौलो हजार दिन घोषित गरेको छ । कम्तीमा ६ महिनासम्म शिशुको पोषण आमाको दुधमा भर पर्छ भन्ने थाहा हुँदाहुँदै पनि बच्चाहरू आमाको दुध खानबाट वञ्चित भइरहेको बाल रोग विशेषज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालय र हेलेन केलर इन्टरनेसनलले २०११ मा गरेको सर्वेक्षणअनुसार नेपालमा पूर्ण स्तनपानको दर ६९ प्रतिशत थियो । २०१५ सम्म आइपुग्दा पूर्ण स्तनपानदर ६६ प्रतिशतमा झरिसकेको छ । बर्सेनि पूर्ण स्तनपानको दर अझै घट्दै जाने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयको तथ्यांकअनुसार ग्रामीण भेगभन्दा सहरी भेगमा पूर्ण स्तनपान दरको अवस्था भयावह छ । प्रमुख पोखरेल भन्छन्, ‘सहरमा जन्मेको तीन महिनाभित्रै बच्चालाई बजारिया दुध खुवाउने प्रवृत्ति छ, यसको नकारात्मक असर बच्चाले जीवनभर भोग्नुपर्छ ।’

सन् १९९१ देखि विश्व स्वास्थ्य संगठनले प्रसूति तथा नवजात शिशु स्याहार प्रदान गर्ने सबै स्वास्थ्य संस्थाहरू आमा–बच्चामैत्री बनाई अस्पतालबाटै स्तनपानको सुरुवात गराउने नीति बनाएको थियो ।

उक्त नीतिको कडाइका साथ अवलम्बन नहुँदा बालकुपोषणको दर बढ्दै गएको खाद्य तथा पोषणविद् डा। अतुल उपाध्याय बताउँछन् ।घट्दो स्तनपान दरलाई रोक्न र कुपोषण घटाउन सरकारले अनियमित ढंगले चलिरेको बजारिया फमुर्ला मिल्क ९पाउडर दुध० लाई नियन्त्रण गरी कारबाहीको दायरामा ल्याउनुपर्ने डा। उपाध्यायको भनाइ छ । ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री अत्यधिक बढेको छ, यसको मागलाई घटाउनुपर्छ,’ उनले भने ।

विश्वचर्चित स्वास्थ्य पत्रिका ‘दि ल्यान्सेन्ट ब्रेस्टफिडिङ सिरिज’ले सन् २०१४ मा प्रकाशित गरेको तथ्याकंअनुसार विश्वभर आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु वार्षिक ४५ खर्ब रुपैयाँको बिक्री हुन्छ ।

स्तनपानको अभ्यासलाई सुधार गर्न सकेमा बर्सेनि आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने विश्व स्वास्थ्य संगठनले बताएको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली २०५१ ले त्यस्ता वस्तुहरूको प्रवद्र्धन र विज्ञापन गर्न नपाइने बताएको छ ।

यस ऐनको उल्लंघन गरिएको पाइएमा मुद्दासमेत चलाउन सकिने अधिकार दिएको छ । बलियो कानुन र फितलो कार्यान्वयनका कारण दोषीलाई सजाय हुन नसकेको पोषणविद् मधु देवकोटा दीक्षित बताउँछिन् ।

स्तनपान र पोषणबारे चेतना नहुँदा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुतर्फ आकर्षण बढ्दै गएको स्वास्थ्य सेवा विभागका प्रमुख डा। राजेन्द्र पन्तले बताए । ‘बजारिया दुधको माग नघटेसम्म नेपालमा बाल मृत्युदर घट्दैन, सरकारले यस्तो वातावरण र रणनीति तयार गर्न आवश्यक छ,’ डा। पन्तले भने ।

श्रम नियमावली २०५० मा गर्भवती कामकाजी महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि ९० दिनसम्म पारिश्रमिकसहितको बिदा दिने बताइएको छ ।

नियमावलीको उचित कार्यान्वयन नहुँदा कामकाजी महिला बच्चालाई बजारिया दुधको भरमा छोडेर काम गर्न बाध्य छन् । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व स्तनपान सप्ताह मनाइँदै छ । हरेक वर्ष श्रावण १७ गतेदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्