सुचना प्रविधि

एक वर्षभित्र १५० स्थानमा इन्टरनेट सेवा पुर्याइने

By थाहा अनलाइन

December 19, 2018

एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्याइने संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।

बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन्।

‘मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ,’ उनले भने, ‘एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्‍याइनेछ।’

टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए ।

आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे ।

‘टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्,’ उनले भने ।

नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुक्र्याए पनि त्यही चाहिने भइसकको पनि बताए ।

उनले भने, ‘टेलिकम आमा जस्तै हो, कहिलेकाहीँ मर्मत वा अन्य केहीले सेवा ढिलो वा बन्द हुँदा घुक्र्याउने हो, घुक्र्याएपछि आमा चाहिएजस्तै हो टेलिकम ।’

नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको जानकारी दिएका छन् । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको १७ औँ हो । मन्त्री बाँस्कोटाले आजै बेथानचोक गाउँपालिका–३ महाँकालस्थित कृष्णगोपाल माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सरकारले एक वर्षमा ९०० सामुदायिक विद्यालयमा इन्टरनेट सुविधासहित कम्प्युटर ल्यावको स्थापना गर्ने बताए ।रासस