आर्थिक

किन रोकियाे बन्दरगाहमै तीस हजार मेट्रिक टन मल

By थाहा अनलाइन

December 19, 2018

वीरगञ्ज । केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो ।

विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले राससलाई बताए ।

उनले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि गहुँ खेती प्रभावित हुने बताए ।

कम्पनीले पर्सा जिल्लामा रहेको आफ्ना १०० डिलरमार्फत चालू आवको साउनदेखि मङ्सिरसम्ममा युरिया सात हजार ४४६ मेट्रिक टन, डिएपी चार हजार ६२५ मेट्रिक टन तथा पोटास ११ मेट्रिक टन बिक्री गरेको छ । रासस