अब नगरकोट प्रवेश गर्न पर्यटन शुल्क तिर्नुपर्ने, कति छ प्रवेश शुल्क ?



काठमाडौ २१ साउन । आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले सशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो ।

भक्तपुर र काभ्रेको सिमाना पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरे पनि सरकारी स्तरबाट कुनै शुल्क लिइने गरिएको थिएन ।अबदेखि भने पर्यटकले शुल्क तिनुपर्ने व्यवस्था गर्न दुवै जिल्लाका सरकारी अधिकारी, पर्यटन व्यवसायी र राजनीतिक दलका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गरिएको छ ।

नगरकोटमा भएको बृहत् छलफलपछि नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा संयोजक रहने गरी नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की र काभ्रेतर्फको बालुवापार्टी नाल्दुम गाविस सचिव मुकुन्द गजुरेलसहित दुवै जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधि सदस्य रहेका छन् । सो कार्यदलले एक महिनाभित्र शुल्क के कति उठाउने हो सो विषयमा निर्णय गरिसक्नुपर्नेछ ।

कार्यदलले निर्णय गरेपछि सबै तहमा बृहत् छलफलपछि अनुमोदन गराइसक्नुपर्नेछ । कार्यदलका संयोजक लामाले छलफलबाट पाएको म्यान्डेटलाई जसरी पनि निष्कर्षमा पुर्याइछाड्ने बताए । लामाले शुल्क उठाएर नगरकोटलाई व्यवस्थित बनाउने सबैको उद्देश्य पूरा गरेर नगरकोटको विकासमा खर्चिने बताए ।

भक्तपुरतर्फको नगरकोट नगरपालिका घोषणा भइसकेको छ भने काभ्रेतर्फको होटल सञ्चालनमा रहेका बालुवापार्टी नाल्दुम गाविसअन्तर्गतको नाल्दुम क्षेत्र गाविसको रूपमा रहेकाले उठेको शुल्क के-कसरी बाँडफाँट गर्ने भन्ने विषय जटिल देखिएको छ । विभिन्न ठाउँमा शुल्क उठाउने पोस्ट राखेर गर्नुपर्ने भएकाले पर्यटन समितिलाई उठेको शुल्कमध्ये कति प्रतिशत छुट्याउने, नगरपालिका र गाविसलाई के कति प्रतिशत बाँडफाँट गर्ने विषयमा गहिरो छलफल हुने अध्यक्ष लामाले बताए ।

भक्तपुरतर्फको नगरकोट नगरपालिका र काभ्रेका बालुवापाटी देउपुर गाविसअन्तर्गत नाल्दुम क्षेत्रका सयौं पर्यटन व्यवसायी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरोकारवालालगायतको सहभागितामा भएको कार्यक्रममा वक्ताहरूले नगरकोटमा सरकारी उच्चस्तरका व्यक्तित्वदेखि सबै तहका कर्मचारी तथा मन्त्रीहरू आएर बास बस्ने गरे पनि अहिलेसम्म आश्वासनबाहेक केही पनि नदिएको गुनासो गरेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नवीन गुरुङले कार्यपत्र प्रस्तुत गर्दै नगरकोटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रारम्भिक, मध्य र दीर्घकालीन गरी तीन तहको संरचना तय गरेको जानकारी गराएका थिए । कार्यक्रममा पर्यटन राज्यमन्त्री एवं काभ्रे क्षेत्र नम्बर ३ का सांसद कञ्चनचन्द्र बाडे श्रेष्ठले विश्वले चिनेको नगरकोटलाई पर्यटन क्षेत्र घोषणा गर्न ढिलाइ भइसकेको बताउँदै पूर्वाधारको विकास नगरी समृद्धि सम्भव नभएको बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नगरकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय क्षेत्र भएको बताउँदै यसको विकासका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए । उनले प्राकृतिक स्रोत उपयोगका क्रममा द्वन्द्व भए त्यसले पर्यटकमासमेत नकारात्मक असर पर्नेतर्फ भने व्यवसायीले ध्यान दिनुपर्नेमा जोड दिए ।

नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले नगरपालिकाको नगरपरिषद्ले फोहोरमैला व्यवस्थापनदेखि पर्यटन शुल्क उठाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए  राजधानीमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्