पर्यटन

तातोपानी कुण्डको धार्मिक विश्वास विदेशी पर्यटकमा पनि बढ्दो

By थाहा अनलाइन

December 23, 2018

प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका वडा नं १३ मा अवस्थित तातोपानी कुण्डमा स्नान गर्न स्वदेशी पर्यटक मात्र नभएर विदेशी पर्यटकको पनि रोजाइको स्थल बनेको छ ।

यहाँको पानीमा पटक पटक शरीर डुबाए शरीरमा भएका सम्पूर्ण रोगहरु निको हुने धार्मिक विश्वास छ । तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको पनि देखिन्छ ।

तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ–खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निकोहुने पनि धार्मिक जनविश्वास रहेको छ ।

यही विश्वासलाई विदेशीहरुले पनि आत्मासाथ गरेर यहाँ स्नान गर्नकैलागि भनेर आउने गरेको पाइएको छ । विदेशीहरु यहाँ आएर आफ्नो शरीरमा भएका रोग निको होस् भनेर कामना समेत गर्दछन् ।

तातोपानी व्यवस्थापन समितिका अनुसार यहाँ उपचारको लागि देशका अधिकाँश जिल्लाका विरामीहरुका साथै भारतको नानपारा,रुपैडिया, बनवासा लगाएत राउण्ड धौलागिरी र अन्नपूर्णको भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत उपचारका लागि यहाँ आउने गरेका छन् ।

रोग निको पार्न डुब्नका लागि जमिनभित्रबाट निस्कने तातो पानी कुण्डमा जम्मा गरिएको छ। तातोपानी कुण्डमा डुबेपछि कम्बल वा बाक्लो कपडा ओढेर न्यानो ठाउँमा पसिना निकाल्ने गरि आराम गर्ने र कुण्डको छेउमै रहेको तातोपानीमा नुहाउने गरिन्छ ।

https://youtu.be/x3T0fn1lcE8