अव्वल शिक्षकको निधनले अपुरणिय क्षति



शरद अधिकारी
घोराही, शुक्रबार विहान दिदी लक्ष्मीको जन्मको अवसरमा प्रदिप घिमिरेले फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । ‘तिमीले मलाई सहास दियौं । जहिले पनि मेरो साइडमा रह्यौ । तिमी मेरा लागि सवैभन्दा मूल्यबान व्यक्ति हौं । तिमीले मेरो उतार चढावमा साथ दियौ । मलाई कहिले पनि निरास नबनाउनु । मलाई माया गर्नु, केयर गर्नु अनि सपोर्ट गर्नु ।’ विहान साढे पाँच बजे आफू र दिदीको फोटो पोष्ट गरेर कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई लिएर गएका प्रदिप फेरि कहिल्यै नफर्कने गरेर विदा भएका छन् ।

एक जना शिक्षक जो यो क्षेत्रका लागि अनिवार्य आवश्यकता बनेको थियो । एउटा होइन, दुईवटा होइन, नौवटा विद्यालयमा अध्यापन गर्दथे । सोही क्रममा पछिल्लो विद्यालय थियो सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय । हालै मात्रै संचालनमा आएको उक्त शिक्षालयमा बोटानिकल विषयका शिक्षक थिए उनी । शुक्रबार राम्रीमा भएको बस दुर्घटनामा परेर शिक्षक प्रदिप घिमिरेको पनि ज्यान गयो । घिमिरेको निधनसंगै यस क्षेत्रका नौवटा विद्यालयहरुले एउटा कुशल शिक्षक गुमाएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुरमा ३१ बर्ष अघि जन्मिएका थिए घिमिरे । बावु बासुदेव घिमिरे र आमा कमला घिमिरेको २०४४ मंसिर १७ गतेका दिन कान्छा सुपुत्रका रुपमा उनको जन्म भएको थियो । सानै देखि पढाइमा अव्वल घिमिरले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा र पछि दिपशिखामा आए । त्यसपछि पद्मोदय पव्लिक नमूना मावि आएका प्रदिपले २०६१ सालमा सोही विद्यायबाट प्रथम श्रेणिबाट एस एल सी उत्तिर्ण गरे ।
एस एलसीमा प्रदिप सामुदायिक विद्यालय तर्फ जिल्लामै दोस्रो भएका थिए भने कक्षा आठमा पढ्दा जिल्लाभरमै सामुदायिक विद्यालय तर्फ प्रथम भएका थिए । कक्षा १० पास गरिसकेपछि प्लस टु पढ्नका लागि काठमाडौं पुगे । काठमाडौं मोडेल कलेजबाट प्रथम श्रेणिमै पास गरे । प्लस टु पास गरिसकेपछि पुनः दाङ फर्किएका प्रदिपले महेन्द्र बहुमुखी क्याम्पसबाट विएस्सी पास गरे । विएस्सी पास गर्दा पनि प्रदिपको नम्वर फस्ट डिभिजन थियो ।

महेन्द्र बहुमुखी क्याम्पसबाट विएस्सी उत्तिर्ण गरेपछि प्रदिप पुन काठमाडौं पुगे । त्रिभुवन विश्व विद्यालयबाट फस्ट डिभिजनमै एम एस्सी पास गरेका घिमिरे करिव पाँच बर्ष अघि दाङमा आएर पढाउन थाले । मेडिकल क्षेत्रमा जान चाहेको भएपनि घिमिरे बनस्पती शास्त्र विषय तर्फ लागे । कक्षा १० सम्म संगै पढेका उनका सहकर्मी विवेक आचार्यका अनुसार प्रदिप अव्वल विद्यार्थीका रुपमा थिए ।

दाङमा विज्ञान शिक्षकको अभाव भएपछि उनलाई दाङ आउन भनियो । दाङमा बनस्पती शास्त्र पढाउनेहरुको संख्या कम भएपछि प्रदिपलाई विभिन्न कलेजमा पढाउन भ्याइ नभ्याइ थियो । आचार्यका अनुसार प्रदिपले हाल महेन्द्र बहुमुखी क्याम्पस भरतपुर, कृष्णसेन प्राविधिक शिक्षालय, मदन भण्डारी मेमोरियल, दिपशिखा क्याम्पस, उच्च मावि रझेना, सञ्जिवनी कलेज, सिद्धार्थ मावि, विद्यानिलकण्ठ र चौघेरामा पढाउने गर्दथे । यसअघि पद्मोदय कलेजमा पनि प्रदिप शिक्षकका रुपमा थिए ।
प्रदिपको निधनले सवै विद्यालयहरु संकटमा परेका छन् । प्रदिपको निधनपछि यतिवेला सामाजिक सञ्जालमा प्रदिप घिमिरेको निधनमा दुःख व्यक्त गर्नेहरु अनगिन्ती भएका छन् । नजिकवाट चिन्नेहरुले मन थम्न नसकेका शव्द र थोरै मात्र चिन्नेहरुले पनि दुःख पोखिरहेका छन् । घिमिरेको नजिकका साथी वसन्त घर्तीमगरले आफ्नो फेसवुकको वालमा गहिरो दुखका शव्द व्यक्त गर्नुभएको छ ।‘ आफु संगै पढेको अत्यन्तै मिलनसार साथीलाई गुमाउनुको पीडा प्रदिपको तस्वीर सहित व्यक्त गरिएको छ । ‘मृत्यु सर्बमान्य हो तर अस्वभाबिक हुने मृत्यु चै स्विकार्य हुदैन तर के गर्ने फिर्ता गर्न मिल्दैन । यो समूहको एउटा अत्यन्त मिलनसार होनहार साथी जस संग जीवन को लगभग १७ बर्ष हाँसी खुशी बिताएको, तर आज यहि फोटो खिच्ने दिन नै उ संगको भेट अन्तिम बन्यो । यो स्कुलमा पढेको हाम्रो समूहले ठूलो क्षति बेहोरेको छ । मेरो र हाम्रो साथी प्रदिप घिमिरे तिमिलाई सधै सधै मन को मझेरीमा राख्ने छु । यो घडी मा उपस्थित हुन सकेन । मन भक्कान्निएर मात्र आउँछ ।’

यस्तै अनगिन्ती समवेदनाका शव्दहरु प्रदिपका लागि खर्च गरिएका छन् । विभिन्न विद्यालयका प्राचार्यहरुले पनि प्रदिपको निधनमा विद्यालय बन्द गर्ने जानकारी गराएका छन् । ‘उहाँ पढाइमा अव्वल मिलनसार स्वभावका हुनुहुन्थ्यो ।’ दिपशिखा क्याम्पसका प्रिन्सीपल रोमन अधिकारीले भन्नुभयो । दिपशिखामा पढाउन लागेको करिव, पाँच÷छ बर्ष भयो, उहाँ अत्यन्तै मिलनसार र पढाइमा अव्वल व्यक्तित्व हो, उहाँले भन्नुभयो । एउटा होनहार शिक्षकको निधनले सवैलाई पीडाबोध भएको छ । शनिबार उहाँको अन्तेष्टिमा सयौं विद्यार्थीहरु पनि सहभागि थिए । सवैका आँखा रसाएका थिए । दाङले जन्माएको एउटा होनहार छोरोको निधनप्रति राप्ती पोष्ट परिवारको पनि श्रद्धाञ्जली ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्