६ छोरी जन्माएको भन्दै घर निकाला



जुम्मा । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । कनकासुन्दरी गाउँपालिका – ६ लुड्की झनमाया रोकायालाई श्रीमान् गंगाराम रोकायाले घरबाट निकालेका हुन् । २६ वर्षीया झनमायाले आफू ६ महिनाको गर्भवती अवस्थामा श्रीमान गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीसँग बस्दै आएकी उनले यही पुस ३ गते तेस्रो सन्तानमा रुपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको छ ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रुपमा निकै विपन्न भएका कारण शिशुको उपचारमा कठिनाइ भएको छ । अस्पतालले रेफर गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् । सानै उमेरमा बिहे गरेकी उनले ६ सन्तान जन्माएको र तीनवटा मात्रै जीवित रहेको दुखेसो गरिन् ।

पहिलो सन्तान मृत छोरी जन्मिएको र त्यसपछिको गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमानका दवावमा गर्भपतन गरेको उनले बताइन् । ‘पटक पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’ झनमायाले दुखेसो गरिन्, ‘श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन् । आफ्नो कोही भएनन् ।’ गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि बुढा बुवाको सहारामा अस्पताल पुगेकी उनले नवजात शिशु छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस बी को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताइन् । झनमायाका अनुसार छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान कहाँ छन् भन्ने अत्तोपत्तो छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनकी छोरीको उपचारका लागि अन्य निकायसँग समन्वय गरेर बाहिरबाट खोप मगाएर भए पनि उपचार गर्न सहयोग गर्ने आश्वासन दिएको छ । अस्पतालका रजिष्टार विश्वराज काफ्लेले अति विपन्न वर्गका मान्छेलाई अस्पतालले सहयोग गर्ने गरेको भन्दै नवजात शिशुलाई हेपाटाइटिस बी को खोप लगाउन पहल गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि श्रीमति छोडेर भागेका श्रीमानको खोजीको लागि पहल गर्ने बताए । अस्पतालमै रहेकी झनमाया र छोरीको उपचारका लागि अस्पतालसँग समन्वय गरेर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्