साइरनवाला गाडीमा कमाण्डर



काठमाडाैं । पुसको ठण्डी, हिमाली भेगमा हिउँ पर्न थालिसक्यो । पहाडी भेगलाई पनि चिसोले कक्रयाउन थालिसकेको छ । काठमाडौंको तापक्रमक शून्य डिग्री उन्मूख  छ । यस्तो बेला माओवादी जनयुद्धका घाइते तथा अपांगता भएका पूर्व लडाकुहरु माइतीघर मण्डलमा आमरण अनसनमा बसे । ६ जना युवाहरु विभिन्न माग राखी अनसन बसेको ९ दिन बित्यो । चिसो ठण्डी र सिरेटो खेपेर अनसन बसिरहेका लडाकुको अघिल्तिर सिंहदरबार छ । त्यही सिंहरदबारका थुप्रै पहुँचवाला मन्त्रालयको नेतृत्वमा उनीहरुका आफ्नै कमाण्डर पनि छन् । २७ मंसिरदेखि माइतिघर मण्डलमा अनसन बसेका उनीहरुलाई पाँच दिनपछि २ पुसमा प्रहरीले वीर अस्पतालको इमर्जेन्सी वार्डमा पुर्‍यायो ।

उनीहरु पाँच वुंदे मागसहित अनसनमा छन् । माओवादी जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिलाई परिचयपत्र राजपत्रमा उल्लेख गरी प्रदान गनुपर्ने, जीवन निर्वाह भत्ताको व्यवस्था गनुपर्र्ने, घाइतेहरुकोे पुनः अवलोकन गरी प्रतिशत निर्धारण खारेज गनुपर्ने, औषधि उपचारका लागि तत्काल आर्थिक सहायता प्रदान गनुपर्ने र बालबच्चालाई निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने माग उनीहरुले राखेका छन् । वीर अस्पतालको इमर्जेन्सी वार्ड । पूर्व लडाकुहरुको पाखुरामा स्लाइनको नली रोपिएको छ । शरीर दिनप्रतिदिन कमजोर बन्दै गएको छ । खाना खाँदैनन्, स्लाइनबाट शरीरमा पोषण पठाइएको छ ।

०५८ सालमा राज्यसत्ता बदल्न बन्दूक उठाएका लिलाचन्द्र कामी वीर अस्पतालको बेडबाट भन्छन्– ‘हाम्रा माग पुरा नगर्ने हो भने सरकारले बन्दुक ठोकेर मारिदेओस् ।’ कामीको मात्र होइन, अरुको श्वरमा पनि थकान, पीडा र पराजयको भावना मिसिएको छ । १० वर्षे माओवादी जनयुद्धमा प्रत्यक्ष सामेल यी घाइते पूर्वलडाकुहरु समस्या समाधानका सबै बाटा बन्द भएपछि आमरण अनसन रोजेका छन् ।

कामी ‘धनी र गरिब समान हुन्छन्’, उनीहरुका छोराछोरीले पढ्ने शिक्षा समान हुन्छ र पाउने अवसरपनि समान हुन्छ भन्ने ठानेर जनयुद्धमा सामेल भएको बताउछन् । पछि फर्केर हेर्दा उनका अघि आफूले भोगेको जातीय र आर्थिक विभेदको लामो शृंखला थियो । त्यसविरुद्धको चेतना दियो माओवादीले । आफू र आफूजस्ता दलितहरुको भविष्य बदलिने विश्वासमा उनले बन्दुक बोके ।

‘समाजमा भएका सबै विभेदका विरुद्धमा बोलेको थियो माओवादीले, त्यसले हामीजस्ता दलित समुदायका व्यक्तिहरुलाई आकर्षित गरेको थियो’, उनी सम्झिन्छन् । माओवादी जनयुद्धमा सामेल भएपछि उनी पटकपटक गिरफ्तार भए । पहिलोचोटी ०५८ पुसमा वर्दियामा पक्राउ परे । जिल्ला प्रशासन कार्यालयमा पाएको यातनाले उनको टाउकामा गम्भीर चोट लाग्यो, रगत जमेका कारण महंगो औषधि खानुपर्ने भयो ।

टाउकाको चोटको उपचारका लागि उनलाई ऋण लाग्यो । घरजग्गा लिलामीमा राखेर उपचार गरे । अहिले श्रीमतीका नामको १५ धुर जग्गामात्र उनीसँग छ । त्यही जग्गा सहकारीमा राखेर उनले ऋण लिएका थिए । अघिल्लो वर्षको मंसिरमा पुसमा सहकारीले जग्गा लिलामीको पत्र पठाइसकेको छ ।  श्रीमतीका गरगहना सबै बेचिसके । छोराले गरेको मजदुरीले परिवार पालिन धौधौ छ । उनी आफू काम गर्न सक्दैनन् । ‘मेरो परिवार पालिने आधार लगभग गुमिसक्यो, चौतर्फी ऋणमा डुबेको छ, मसँग आफूलाई बचाउन ज्यान दाउमा लगाएर अनसन बस्नुबाहेक कुनै विकल्प बाँकी छैन’, लामो मौनता चिरेर बोले उनी ।

उनको १ कठ्ठा १३ धुर जग्गा साहुले आफ्नो नाममा पारेका छन् । सय कडा ४ रुपैयाँ व्याजदरमा लिएको १ लाख ६० हजार रुपैयाँ तिर्न नसक्दा उनले ०७० सालमा जग्गा गुमाए ।
क्यान्टोनमेन्टबाट निस्किँदा कामीले ५ लाख रुपैयाँ पाएका थिए । त्यो रकम ऋण तिर्दै ठिक्क भएको सुनाउँछन् उनी । अहिले पनि कामीले १५–१६ हजार रुपैयाँको औषधि मासिक रुपमा खानुपर्छ ।

जुम्ला तातोपानीका वीरबहादुर परियारको स्थिति पनि लिलाचन्द्र कामीको भन्दा तात्विक रुपमा फरक छैन । उनी ०५७ सालदेखि माओवादी जनयुद्धमा सहभागी भए । छापामार दस्ता हुँदै उनी कम्पनी कमाण्डरसम्म भए ।

०५९ सालमा बाँकेको कुसुममा सरकारी सेनासँग भएको भीडन्तमा उनी घाइते भए । परियारको दायाँ खुट्टाबाट गोली पास भएको थियो । गोलीको छर्राले उनको दाहिने आँखामा भेट्यो । दाहिने आँखाको चोट छोप्न उनी कालो चस्मा लगाउँछन् । ०६७ सालमा उनले नेपालगञ्जमा घर बनाएका थिए । ऋण तिर्न नसकेपछि घर बेचेका उनको परिवार अहिले कोहलपुरमा भाडाको घरमा बस्छ । अपाङ्गता भत्ता बापत उनले राज्यबाट मासिक ६ हजार २ सय रुपैयाँ पाउँछन् । उनको भत्ताले दुई छोरा, श्रीमती र आमालाई पाल्न पुग्दैन । परिवारको भर उनीमाथि छ ।नेपालगञ्जकै सरकारी विद्यालयमा छोरालाई पढाएका उनले लामो समय ऋणमा जीवन चलाए । त्यसबापत घर बेचे । आफ्नो औषधि र परिवारको भरणपोषण गर्ने कुनै विकल्प नभएपछि अहिले उनी अनसनमा छन् ।

‘हामी आफ्ना लागिमात्र अनसन बसेका होइनौँ, हामीभन्दा पनि अझ दर्दनाक जीवन बिताइरहेका साथीहरु हुनुहुन्छ, ह्वीलचियरमा हिँड्नुपर्ने, प्यारालाइसिस भएका साथीहरु कसरी बाँचिरहेका छन् भनेर यो राज्यले सोच्नु पर्छ कि पर्दैन ?’, परियार प्रश्न गर्छन् ।

कालिकोटका मन दर्जी दुईवटा भीडन्तमा परे । कालिकोटको कोटवाडामा भएको भीडन्तमा उनी मुस्किलले बाँचेका थिए । सेनाले हेलिकप्टरबाट बम हान्दा छर्रा उनको खुट्टा र छातीमा लाग्यो । अस्पतालले उनलाई जीवनभर औषधि खानु भनेको छ । तर, औषधि खाने पैसा छैन, अहिलेसम्म औषधि खानैका लागि उनले जायजेथा बेचिसके । ‘जायजेथा केहि छैन, गाउँभरी ऋण छ, पैसा जुटेको बेला औषधि खान्छु’, आफ्नो व्यथा सुनाउँछन् दर्जी ।

अनसनरत ६ जनाको हेरचाहमा जुटेका छन् अर्का घाइते पूर्व लडाकु रमेश कालिकोटे । मकवानपुर–झुरझुरेको भीडन्तमा उनी घाइते भएका थिए । रातको कार्यक्रममा शाही सेनाले एक्कासी आक्रमण गरेको थियो । उनको बाँया आँखाको डिलमा छर्रा लाग्यो । छर्राले उनको बाँया आँखालाई सदाका लागि बन्द गरिदियो । गोलीले उनको अनुहारको स्वरुप नै बिगारिदिएको छ । पैसा अभावका कारण उनले बायाँ आँखाको छर्रा निकाल्न सकेका छैनन् । उनले पनि आफ्नो उपचारका लागि सर्लाहीस्थित हरिवनको २ कट्ठा जग्गा बेचे । मासिक ८ सय तिरेर उनको परिवार भाडाको घरमा बस्छ । ठेक्कापट्टा गरेर उनले परिवार जसोतसो पालेका छन् । बाँकी मंगलसिंह प्रजा, नरवीर दमाईँ, संग्रामे सार्कीको अवस्थापनि उनीहरुको भन्दा खासै भिन्न छैन । अभाव, अवहेलना, संकट र कठिनाइका बीच उनीहरुले जिन्दगी गुजारिरहेका छन् ।

जातीय भेदभावमा पूर्वलडाकु
अनसनरत ६ मध्ये मंगलसिंह प्रजा चेपाङ समुदायका हुन्, बाँकी ५ जना पूर्वलडाकु दलित समुदायका छन् । तत्कालिन माओवादीले लगाएको जातीय विभेदविरुद्धको आकर्षक नारा उनीहरुलाई युद्धमा प्रेरित गर्ने महत्वपूर्ण कारण थियो । लिलाचन्द्र कामी दलितका विषयमा त्यसबेला माओवादीले बाँडेको सम्पना सम्झिन्छन्–‘सबै जनता समान हुन्छन्, सबैै किसिमका विभेद र उत्पीडनको अन्त्य गर्छौँ भनेर उहाँहरुले एजेण्डा अघि सारेपछि मजस्ता दलित समुदायका युवायुवतीलाई माओवादीको नाराले असाध्यै आकर्षित गरेको थियो ।’

तर, अहिले दलित समुदायका पूर्वलडाकुले समाजमा जातीय विभेदको समेत सामना गर्नुपरेको छ । रमेश कालिकोटे दलित पूर्वलडाकुले अहिले अरुले भन्दा दर्दनाक समस्याको सामना गरिरहेको बताउँछन् । ‘दलितले समाजमा चरम उत्पीडनको सामना गरिरहेका छन्, अरु पूर्वलडाकुले भन्दा हामीले भोगेको समस्या थप जटिल छ, जनयुद्धमा कम भएको विभेद अहिले गाउँगाउँमा पुनः सुरु भएको छ’, उनी भन्छन्,‘दलितहरु पुस्तैनी गरिबीमा बाँचिरहेका छन् त्यसैले समाजमा हामीलाई अहिलेपनि गाह्रो छ, त्यसमाथि हिजो युद्ध लडेको मन नपराउनेहरुले बदला लिने उपयुक्त समयपनि पाएका छन् ।’ उनी दलितमाथि राज्यकै दृष्टिकोण अझैसम्म विभेदकारी रहेको बताउँछन् ।

लिलाचन्द्र कामीपनि समाजमा आफूहरु पुनः अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । ‘हिजो के के न गर्छौँ भनेर युद्ध लडेका थियौ, अहिले के गर्‍यौ भनेर हामीलाई प्रश्न सोधिन्छ, माओवादी जनयुद्धमा डरले विभेद गर्न नसक्नेहरु अहिले दलितमाथि विभेद गर्न थालिसकेका छन्, हामीमाथि चौतर्फी रुपमा संकट आइपरेको छ’, उनी भन्छन् ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन जनयुद्ध र जनआन्दोलनको भावना अनुसार राज्य पुनर्संरचना हुन नसक्नुको सबैभन्दा ठूलो क्षतिको सामना सिमान्तकृत समुदायले गरिरहेको बताउँछन् । ‘आदिवासी, जनजाति, दलित, मधेसी, महिलालगायतको कोणबाट जसरी राज्य पुर्नसंरचना हुनुपथ्र्यो त्यसरी भएन । खासगरी जनयुद्ध अघि र पछि राज्यपुनरसंरचना सीमान्तकृत समुदायको कोणबाट हुनुपर्छ भनेर माग उठ्यो । ती माग सम्बोधन गर्ने गरी न संविधान निर्माण गर्दा भयो न राज्य पुनरसंरचना नै भयो । ती दुवै नहुँदाको दुस्परिणाम चपेटामा सीमान्तकृत समुदाय परे’, उनी भन्छन् ।

महर्जन राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा वर्चश्वशाली समुदायलाई राज्यको ठिक ढंगले पुनर्संरचना नहुँदा पनि धेरै असर नपर्ने तर दलित लगायत उत्पीडित समुदाय भने अझ उत्पीडनमा परेको बताउँछन् । उनी दलित पूर्वलडाकुहरुको हकमा पनि नेतृत्वले आन्दोलनका मुद्धा छाड्दा समस्या देखिएको तर्क गर्छन् ।

दुविधाग्रस्त पूर्वलडाकु 
वीरवहादुर परियार धाराप्रवाह राजनीतिक विषयमा धारणा राख्छन् । कुराकानीको प्रवाहमा स्लाइनको नली रोपिएको हात हल्लाइरहन्छन् । उनी आफूसमेतले लडेको जनयुद्धबाट प्राप्त भएका राजनीतिक उपलब्धिको फेहरिस्त सुनाउन छुटाउँदैनन् । तर, अन्त्यमा निष्कर्ष निकाल्न छुटाउँदैनन्–‘हामी जुन प्रवृत्तिका विरुद्धमा लड्यौँ, अहिले त्यही प्रवृत्ति हाम्रै अगाडि हाम्रै नेताबाट दोहोरिएको छ ।’

कम्युनिस्ट अन्दाजमा उनी अझ् प्रष्ट्याउँछन्–‘जनयुद्ध दुई वर्गबीचको लडाईँ थियो, सामानता र राज्यको समानुपातिक व्यवहारका लागि गरिएको संघर्ष थियो तर अहिले हाम्रा आदर्शका नायक बनेकाहरु करोडौँको सम्पत्ति थुपार्ने सत्तालोलुपमा बदलिए ।’

रमेश कालिकोटे त ठाडै भन्छन्–‘अहिले युद्धमा आफूले गरेको जीवनको लगानी  मलाई बेकार लाग्छ, युद्धमा बिताएको समय विदेश गएको भए श्रीमती र छोराछोरीले अहिले यसरी दुःख पाउँथेनन् ।’ उनीपनि वीरबहादुर परियारले जस्तै आफूहरुले लडेको युद्धबाट प्राप्त गरेको राजनीतिक परिवर्तन सम्झिन छुटाउँदैनन् तर युद्ध बेकार लडिएको निश्कर्ष पनि निकाल्छन् ।

लिलाचन्द्र कामीलाई लाग्छ– ‘युद्ध लडेर गल्ती गरिएछ ।’ आफ्नो निश्कर्ष पुष्टिका लागि उनी तर्क गर्छन्–‘हाम्रो लडाईँ केहि मान्छेहरुलाई धनी बनाउनका लागि रहेछ, हामीलाई सिंडी बनाउने मान्छेहरु अहिले आफु विरामी हुँदा विदेशमा उपचार गराउँछन्, छोराछोरी विदेशमा पढाउँछन्, घुम्ने कुर्सीमा बस्छन् तर हामी कठिन जीवन बाँचिरहेका छौँ ।’

आफैँले विगतमा लडेको युद्धप्रति पूर्वलडाकुमा वितृष्णा हुनु कस्तो संकेत हो ? विश्लेषक महर्जन द्विविधाग्रस्त लडाकुहरु परिवर्तनप्रति नै नकारात्मक बन्ने र उनीहरुले आत्मघाती बाटोसमेत समाउने खतरा देख्छन् । ‘उनीहरुमा अहिलेका परिणाम हेरेर विगतको मुल्यांकन गर्ने समस्यासमेत दखिन सक्छ, विगतमा गरेको योगदानप्रति द्विविधा र आशंका उत्पन्न हुँदा उनीहरु अर्कै बाटो लाग्नेसमेत खतरा रहन्छ’, उनी भन्छन् ।

५२ फागुन १ बाट जनयुद्ध सुरु गरेको माओवादी यतिबेला विभिन्न टुक्रामा विभाजित हुँदै एमालेसँग एकता पनि गरिसकेको छ । केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म एकीकृत नेकपामा बर्चश्व छ तर, १० वर्षे जनयुद्ध शान्तिप्रकृयामा रुपान्तरण भएको १३ वर्ष पनि बितिसक्यो । संघीय संसदका सांसदसमेत रहेका पूर्व लडाकु जीवन बुढाका अनुसार देशभर माओवादी जनयुद्धमा सामेल घाइते तथा अपांगता भएका व्यक्तिहरुको संख्या १२ देखि १५ हजार रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्