वार्षिक ३० अर्बको सुन आयात हुन्छ



काठमाडौँ, २१ साउन । कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ । त्यो बस्तु हो– ‘सुनचाँदी’

भविष्यमा गएर पनि सुनचाँदी बिक्री गर्दा आफूले खरिद गरेको मूल्य भन्दा बढी पैसा पाउने आशा आमउपभोक्ताको हुन्छ । परम्परादेखि नै नेपालमा विभिन्न जातजातिले लगाउने मौलिक संस्कृतिमा सुनचाँदी, ज्वाहारात, रत्न पत्थरको प्रयोग हुने गरेको छ ।

नेपालमा हाल सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक रु ९ अर्बको योगदान पुगेको छ । मुलुकमा वार्षिक ३० अर्बको सुन आयात हुने गरेको काठमाडौँ सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज यहाँ आयोजित संघको पन्ध्रौँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।

सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत रुपमा सञ्चालन हुँदै आएको सुनचाँदी व्यवसायलाई अझ बढी व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै यस व्यवसायको विकास र विस्तारका लागि कामपाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुनचाँदी व्यवसायमा ज्याला, जर्ति र टलेरेन्स सामान्य विषय हो भन्दै उहाँले सुनचाँदीको काम गर्ने कालीगढलाई तालीम दिएर दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले विश्वमा नेपाललाई चिनाउने आधार सम्पदा, संस्कृति तथा बाजागाजालाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदीको कारोबारमा जर्ति, समिश्रण तथा टलेरेन्स (औँठी बनाउँदा सुनको मात्रा खिइएर नष्ट हुने ) २ प्रतिशतमा सीमित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायमा वैज्ञानिक यन्त्रको प्रयोग हुने भएकाले उपभोक्ता ठगिने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्