आगलागीले गाउँ नै उजाडियो



काठमाडौ । कालिकोटको पलाँता गाउँपालिका–१ खाँडाको न्यौपानेबाडामा आगलागीबाट ८७ घर जलेर ध्वस्त भएका छन् । धनमालको क्षतिसँगै दुई भैँसी, १९ गाईगोरु र दुई बाख्रा मरे पनि मानवीय क्षति भने हुन पाएन । आगो निभाउने क्रममा १३ स्थानीय घाइते भने भएका छन् । ‘आगोमा जलेर दुई भैँसी, १९ गाईगोरु र दुई बाख्रा मरेका छन्,’ पलाँता गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपानेले भनिन्, ‘८७ घरका सम्पूर्ण धनमाल क्षति भएको छ ।’ उपाध्यक्ष न्यौपाने पनि पीडित हुन् । आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सोमबार बिहान लागेको आगो खरको छाना भएका कारण सबै घरमा एकैछिनमा फैलिएको थियो । गाउँमा युवा तथा पानीको अभावले आगो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति भएको हो । यहाँका सबैजसो युवा कामको खोजीमा कालापहाड गएका छन् । गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्रै छन् । ‘अधिकांश युवा रोजगारीका लागि कालापहाड गएका छन् । गाउँमा केटाकेटी, महिला र अशक्त मात्रै छौँ,’ न्यौपानेले भनिन्, ‘युवा गाउँमै भइदिएको भए आगो चाँडै नै नियन्त्रणमा आउने थियो ।’

 पीडितलाई गाँस र वासको समस्या
घरसँगै अन्न र लत्ताकपडा पनि नष्ट भएपछि चिसोमा आगलागीपीडितलाई खानबस्नको समेत समस्या भएको छ । ८७ घरका ५ सय ४० सदस्य छन् । यीमध्ये पुरुष एक सय ७१, महिला तीन सय ३९ र बालबालिका एक सय ३० जना छन् । उनीहरूले बिहानदेखि दिनभर खान नपाएको वडाध्यक्ष मानबहादुर भण्डारीले बताए । बेलुकाको खाना खुवाउन वडा कार्यालयले खाद्यान्नको जोहो गरेको उनले बताए ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सोमबार तत्काल राहत सामग्री बोकेर न्यौपानेबाडा आएका छन् । सेनाको हेलिकोप्टरमा शाहीसहित संघीय सांसद दुर्गाबहादुर रावत, राष्ट्रिय सभा सांसद जीवनबहादुर बुढा र पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम विभिन्न खाद्यान्न, भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा लिएर आएका हुन् । तर, पूरै गाउँ ध्वस्त भएकाले सो राहतले समस्या नटर्ने स्थानीय बताउँछन् ।

यसरी भयो आगलागी
गाउँको सबैभन्दा तल रहेको नवीन न्यौपानेको घरबाट आगो सल्किएको थियो । घना बस्ती रहेको न्यौपानेबाडामा हावाहुरी धेरै चल्ने भएका कारण अन्य घरमा पनि क्षणभरमै आगो फैलियो । खरका छानामा हुर्हुर्ती सल्किएको आगो नियन्त्रणमा लिन स्थानीय असफल भए । नजिकै पानी नहुँदा पनि समस्या परेको स्थानीय कर्णाखर न्यौपानेले बताए ।
 जुट्दै राहत 
जिल्ला प्रशासन कार्यालय कालिकोटले खाद्य संस्थानबाट सय बोरा चामल पलाँता पठाएको कालिकोटका सिडिओ चन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘खाद्य संस्थानबाट एक सय बोरा चामल घटनास्थलमा पठाएका छौँ,’ उनले भने, ‘संकलित राहत सामग्री पनि पठाउने व्यवस्था मिलाउँदै छौँ ।’ यस्तै, पलाँता गाउँपालिकाले तत्कालका लागि पीडित परिवारलाई एक सेट भाँडाकुँडा र ओढ्ने–ओछ्याउनेको व्यवस्था गरेको अध्यक्ष लक्ष्मण बमले बताए । कालिकोटकै तिलागुफा र रास्कोट नगरपालिकाले एकमुष्ट एक–एक लाख राहत दिने घोषणा गरेका छन् । पचालझरना गाउँपालिकाले पनि एक लाख राहतको घोषणा गरेको छ । शान्ति त्रिवेणी गाउँपालिकाले दुई लाख राहत घोषणा गरेको छ । जिल्लाका उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले पनि राहत संकलन सुरु गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्