‘उद्घाटन नहुँदै शोक सभा गनुपर्ने विडम्वना’



विमला घर्ती
घोराही, केही दिन अघिसम्म विद्यार्थीहरु खेल्ने विद्यालयको प्राङ्ण मलिन छ । विद्यालय सुनसान छ । विद्यार्थीहरु खेल्ने चौर खाली खाली छ । कक्षा कोठाहरु सुनसान छन् । विद्यालय परिसरमा रहेको चौतारा पनि मलिन छ । यो दृष्य हो घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको कृष्ण सेन बहु प्राविधिक शिक्षालयको । शुक्रबार भएको दुर्घटना पछि विद्यालयको भविश्य नै के हुने हो भन्नेमा पुगेको छ । ३७ जना विद्यार्थीहरु मध्य १९ जनाको निधन भइसकेको छ । बचेका केही घाइते छन् । थोरै मात्रै सकुसल छन् ।
संगै पढ्ने, मन मिल्ने साथीहरु छैनन्, मन दुखेको छ । के आपत आइलाग्यो यस्तो ? जुम्लाबाट अन्य साथिहरुसंग दाङ आइपुगेका सन्तोष आचार्यलाई निकै दुःख लागेको छ । दुर्घटनाहरु समय–समयमा हुन्छन्, न्युनिकरणको लागि सरोकारवालाले आफ्ना भूमिका बलियो बनाउदैनन्, उहाँले भन्नुभयो । अप्रिय दुर्घटना धेरै भए । अव घटना हुन नदिनका लागि ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्छ, आचार्यले भन्नुभयो । आफु संगैका साथीहरुको दुर्घटना मृत्यू भएको दुःख पोख्नुभयो ।
घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाही स्थित कृष्ण सेन इच्छुक बहु प्राबिधिक शिक्षालय सुनसान बनेको छ । सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा शुक्रबार तुलसीपुर–३ राम्रीमा शिक्षालयका शिक्षक विद्यार्थीहरु चढेको वस दुर्घटना भएको थियो । दुर्घटनामा परि १९ विद्यार्थी दुइ शिक्षक र बसका सहयोगी सहित २३ जनाको मृत्यु भयो । यसै बर्ष देखि औपचारिक कक्षा शुरु गरेको विद्यालयले उद्घाटन गर्न नपाएरै शोक सभा गर्नुप¥यो । राम्रोसंग तिहार पछि मात्रै पढाइ शुरु भएको थियो । औपचारिक रुपमा शिक्षालयको उद्घाटन गर्न नपाइ शोक सभा गर्नुपरेपछि विद्यालय प्रशासन निरास देखिन्थ्यो ।
दशैं अगाडी करिव दुई हप्ता कक्षा संचालन भयो । विदा सकिएपछि अर्थात तिहार पछि मात्रै पढाइ सुचारु भएको थियो । वन विज्ञानको अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि शिक्षक प्रदिप घिमिरे र नरेश वलीले विद्यार्थीलाई लिएर जानुभयो । विद्यालयको अनुमती अनुसार विद्यार्थी सहित शिक्षक घिमिरे र नरेश वली सल्यान जानुभयो । तर उहाँहरु फर्कनु भएन । नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगीक क्याम्पसका रुपमा यसै वर्षदेखि सञ्चालनमा आएको क्याम्पसको औपचारिक उद्घाटन गर्न नपाउदैँ आइतबार शोक सभा गरियो ।
शोक सभामा बोल्नेहरु सवैका गला अवरुद्ध भएका थिए । सवै चिन्तामा थिए । यस्तो अकल्पनिय दुर्घटनाका उदाहरण थोरै मात्रै भएको भन्दै बक्ताहरुले दुःख व्यक्त गरे । घटनाको उद्दारमा खटिएका सुरक्षा अधिकारीहरुको प्रशंसा पनि शोक सभामा बोल्नेहरुले गरे ।
शिक्षालयका प्रमुख यादव सुवेदीले अकल्पनीय दुर्घटनाले आफूहरु स्तव्ध भएको बताउनुभयो । नमुना विद्यालयको रुपमा विकास गछौै भनेर भनेर लागेका दुई जना शिक्षकहरु समेत यो घटनामा पर्र्दा आफूहरु निकै दुःखीत भएको बताउनुभयो । बिद्यालयको उद्घाटनका लागि उपयुक्त समयको पर्खाइमा रहेको बिद्यालयमा शोक सभा गर्नुपर्दा अत्यन्तै दुःख लागेको बताउनुभयो । ‘३७ जना विद्यार्थीमध्ये १९ जना र २ जना शिक्षकलाई हामीले गुमाएका छौं, १२ जना विद्यार्थीहरुको काठमाडौँमा उपचार भइरहेको छ । यस्तो अवस्थामा शिक्षालय शोकमग्न भएको छ’, शिक्षालय प्रमुख सुवेदीले भन्नुभयो, ‘हामीलाई अप्ठ्यारो अवस्थामा साथ दिने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग गर्न आग्रह गर्दछौं उहाँले भन्नुभयो ।
शोक सभामा बोल्दै जिल्ला समन्वय समिति दाङका संयोजक श्रीधर पौडेलले शिक्षालय सञ्चालनका लागि स्थानीय तहको तर्फबाट आवश्यक भूमिका खेल्ने बताउनुभयो । दुर्घटना घटिसकेपछि आगामी दिनमा यस्ता घटना घट्न नदिन आवश्यक तयारी अपनाउनुपर्ने भन्दै स्थानीय तहको तर्फबाट सहजीकरण गर्ने बताउनुभयो । प्याव्सन दाङका अध्यक्ष यादव गिरीले दाङको शिक्षा क्षेत्रमा सोच्दै नसोचेको घटना घटेको वताउनुभयो । राष्ट्रिय कर्मचारी संगठनका सह–संयोजक तेज बहमदुर खत्रीले घटनाले देश शोकमग्न भएको र जुम्ला रोएको बताउनुभयो । घटनामा धेरै बिद्याथार्थीहरु जुम्लाका परेको जानकारी गराउनुभयो । घटना दुर्घटना भैसकेपछि शिक्षालयलाई अगाडी बढाउनका लागि भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो । उहाँले शिक्षालयको निरन्तरता हुने विश्वास दिलाउनुभयो ।
शोकसभामा नेकपाका केन्द्रिय सदस्यहरु निर्मल आचार्य र हेमराज शर्मा, नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, महेन्द्र बहुमुखी क्याम्पस दाङका निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाल, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीलगायतले सडकलाई ट्राफिकमैत्री बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । शोक सभाको संचालन शिक्षालयका कोर्डिनेटर केशरमान विसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्