पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफलाई सात बर्षकाे जेल सजाय



पाकिस्तान – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ। भ्रष्टाचार सम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहेका शरीफलाई अदालतले साेमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो।

फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएकाे बताइएको छ। पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गरेका छन्। उनले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आएका छन्।

सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ। उनलाई अदालतले १५ लाख पाकिस्तानी रूपैयाँ जरिवाना समेत तोकेको छ।

थुनामा रहेका शरीफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरुले जनाएका छन्। फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। फैसलापछि शरीफ र उनको पार्टीका समर्थकहरुले अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए भने उनीहरुलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्