सबैभन्दा शक्तिशाली डनको रोचक कथाः न गोली चलाए, न कसैको ज्यान लिए



मुम्बइ। भारतसहित मध्यपूर्वको अपराध क्षेत्रको खास ठाउँ मुम्बइमा कैयौं माफिया डनहरु अस्तित्वमा आए । एक समय ती डनहरु निकै शक्तिशाली भए र त्यसैगरी हराए वा मारिए । तर, मुम्बइ अण्डरवर्ल्डमा एक नाम यस्तो पनि छ जसले अण्डरवर्ल्डलाई छुट्टै पहिचान दिए । उनले ग्ल्यामरलाई अण्डरवर्ल्डसँग जोडे । ती डन थिए माफिया तस्कर हाजी मस्तान । उनी पछि मुम्बइका प्रथम माफिया डन कहलिए ।

हाजी मस्तान मिर्जाको जन्म तमिलनाडुको कुड्डलोरमा १ मार्च १९२६ मा भएको थियो । उनका पिता हैदर मिर्जा गरिब किसान थिए । उनको परिवार आर्थिक रुपमा निकै कमजोर थियो । कैयौं पटक घरमा केही खानेकुरा हुँदैनथ्यो । घरको गुजारा निकै मुस्किलले हुन्थ्यो । यही समस्यामा जुधिरहेका हैदर नयाँ कामको खोजीका लागि शहर जान चाहन्थे । तर, घरको समस्याका कारण उनी घर छाड्न पनि सक्दैनथे ।

हैदर मिर्जाको घरको हालत निकै खराब थियो । दुई दिनदेखि घरमा खाना बनेको थिएन । अन्ततः हैदर मिर्जाले बाहिर गएर पैसा कमाउने निश्चय गरे । १९३४ मा उनी आफ्ना छोरा मस्तान मिर्जालाई लिएर मुम्बइ आए । त्यहाँ उनले धेरै काम गरे तर कुनै पनि काममा सफलता पाउन सकेनन् । अन्ततः उनले क्राफर्ड मार्केटनजिकै बंगाली टोलामा साइकल मर्मत गर्ने पसल खोले । पसल खोलेको लामो समय बितिसकेको थियो तर खासै कमाइ हुन सकेको थिएन । यसबीचमा पसलमा खाली बसिरहेका मस्तान मिर्जा सडकमा आवतजावत गर्ने शानदार गाडी र भव्य घरहरु हेर्दै बस्थे । बस्दाबस्दै मस्तानले यी भव्य महल र गाडी आफ्नो बनाउने सपना सजाइसकेका थिए ।

उनीहरु मुम्बइ आएको १० वर्ष बित्यो । आर्थिक हालत अहिले पनि सुधार भएको थिएन । ८ वर्षको उमेरमा मुम्बइ आएका मस्तान १८ वर्षका भइसकेका थिए । यही बीचमा मस्तानको भेट गालिब शेख नामका व्यक्तिसँग भयो । गालिबलाई एक तेज युवकको आवश्यकता थियो । गालिबले मस्तानलाई भने कि यदि उनी बन्दरगाहमा कुल्लीको काम गर्न थाले भने कुल्लीको कामको बहानामा गालिबका सामान लुकाएर बाहिर ल्याउन सक्छन् । गालिबले यसरी आफ्ना सामान लुकाएर ल्याइदिएको बदलामा मस्तानलाई पैसा दिने प्रस्ताव गरे ।

त्यसपछि मस्तानले १९४४ मा बन्दरगाहमा कुल्लीको काम गर्न थाले । उनी मन लगाएर काम गर्न थालेका थिए । यस क्रममा बन्दरगाहमा काम गर्ने अरु मजदूरसँग मस्तानले मित्रता बढाउँदै गए । त्यहाँ आउने जाने सबैलाई मस्तानले आफू सानो बनेरै सलाम, नमस्ते गर्थे । त्यो समयमा विदेशबाट भारत ल्याइने विद्युतीय सामान, महंगा घडी, सुन चाँदीका गहनामा निकै ठूलो रकम कर तिर्नुपथ्र्यो । त्यो समयमा विदेशबाट यिनै सामान बढी मात्रामा भारत ल्याइन्थे । यही कारण बन्दरगाहमा तस्करी गर्नु निकै फाइदाको काम थियो ।

गालिबको काम मस्तानले पूरै बुझिसकेका थिए । उनले यो मौकालाई हातबाट जान दिएनन् । मस्तानले चुपचाप गालिबको तस्करीमा सहयोग गर्न थाले । तस्करले विदेशबाट सुनका बिस्कुट र अन्य सामान ल्याएर मस्तानलाई दिन्थे । मस्तान ती सामानलाई आफ्ना कपडा र थैलामा लुकाएर बन्दरगाहबाट बाहिर निकाल्थे । कुल्ली भएका कारण कसैले उनीमाथि शंका पनि गर्दैनथे । यो काम गरेवापत मस्तानले राम्रो कमाइ गर्न थालेका थिए ।

बन्दरगाहमा काम गर्न थालेपछि मस्तानको जीवनस्तर सुधार भयो । तस्करलाई सहयोग गरेपछि उनलाई राम्रो फाइदा भइरहेको थियो । १९५० को दशक मस्तान मिर्जाको लागि टर्निङ प्वाइन्ट बन्यो । १९५६ मा दमन र गुजरातका कुख्यात तस्कर सुकुर नारायण बखिया मस्तानको सम्पर्कमा आए । यी दुईबीच मित्रता भयो । उनीहरु मिलेर काम गर्न थाले । त्यतिबेला सुनका बिस्कुट, फिलिप्सका ट्रन्जिस्टर (रेडियो) र ब्राण्डेड घडीको माग उच्च थियो । तर, करका कारण भारतमा यी सामान ल्याउनु निकै महंगो थियो । यी दुईले मिलेर दुबइ र एडेनबाट यी सामानको तस्करी सुरु गरे । यसबाट दुवैले राम्रो कमाइ गरे । दुवैको काम बढ्दै गयो । यतिबेलासम्म मस्तानको जिन्दगी बदलिइसकेको थियो । मामुली कुल्ली मस्तान यतिबेलासम्म माफिया डन ‘मस्तान भाइ’ बनिसकेका थिए ।

त्यतिबेला मुम्बइ अण्डरवर्ल्डमा वर्दराजन मुदलियार उर्फ वर्धाको नाम चल्थ्यो तर वर्धाले माफिया डनजस्तो छवि बनाउन सकेका थिएनन् । केही समयपछि वर्धा चेन्नइ फर्केर गए । अब मुम्बइको अण्डरवर्ल्डमा एउटै नाम थियो मस्तान भाइ अर्थात हाजी मस्तान । १९७० को दशकमा आइपुग्दासम्म मस्तानले मुम्बइमा छुट्टै दबदबा बनाइसकेका थिए । उनले १० वर्षभित्रै मुम्बइमा एउटा अलग मुकाम हासिल गरिसकेका थिए । समुद्रमा उनको राज चल्न लागेको थियो । मस्तान जस्तो बन्न चाहन्थे त्योभन्दा अझै माथि पुगिसकेका थिए ।

मस्तान धनी पनि थिए र शक्तिशाली पनि । उनलाई सेतो डिजाइनर सुट लगाउने र मर्सिडिजमा घुम्ने सोख थियो । उनको हातमा विदेशी चुरोट वा सिगार देखिन्थ्यो । उनी ऐश आरामको जिन्दगीमा अभ्यस्त भइसकेका थिए । मुम्बइ अण्डरवर्ल्डका राजा मानिने हाजी मस्तान मिर्जाको बलिउडसँग लगाव थियो । मुम्बइका पुराना जानकारका अनुसार हाजी मस्तान बलिउड अभिनेत्री मधुबालाका दिवाना थिए । मस्तान मधुबालासँग विवाह गर्न चाहन्थे तर परिस्थितिका कारण यस्तो हुन सकेन । त्यसपछि मधुबालाजस्तै देखिने अर्की हिरोइन सोना मस्तानलाई मन परिन् र उनीसँगै मस्तानले विवाह गरे ।

मस्तानले सोनाको लागि कैयौं फिल्ममा पैसा लगाए तर उनका फिल्म चल्न सकेनन् । दिलिप कुमार, अमिताभ बच्चन, राज कपूर, धर्मेन्द्र, फिरोज खान, संजीव कुमार जस्ता बलिउड सुपरस्टारसँग मस्तानको मित्रता भएको बताइन्छ । मुम्बइमा हाजी मस्तान मिर्जाको नाम यति ठूलो भइसकेको थियो कि पुलिस र कानुन उनको लागि केही पनि थिएनन् । १९७४ मा पहिलोपटक पुलिसले हाजी मस्तानलाई गिरफ्तार गर्दा भिआइपीजस्तै सुविधा दिइएको थियो । उनलाई हवालातमा नराखेर एक भव्य बंगलामा नजरबन्दमा राखिएको थियो । त्यहाँ उनको सबै किसिमको सुविधाको व्यवस्था गरिएको थियो । पुलिसकर्मीले मस्तानलाई सलाम गर्थे । मस्तान पनि पुलिसकर्मीका लागि निकै फाइदा गराउने व्यक्ति थिए । पुलिसकर्मीलाई महंगा उपहार दिनु हाजी मस्तानको सोख थियो । यदि कुनै अफिसरले मस्तानको कुरा नमानेमा ती अफिसरको सरुवा गराइदिन्थे ।

देशमा संकटकाल घोषणा हुनुभन्दा ठिक अगाडिको समयमा देशमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । प्रधानमन्त्रीलाई पनि मस्तानको सबै गतिविधि रिपोर्टिङ हुन्थ्यो । मस्तानको बढ्दो प्रभावले इन्दिरा पनि चिन्तित थिइन् । प्रधानमन्त्रीको आदेशमा पुलिसले मस्तान मिर्जालाई पक्राउ गर्ने कोसिस गर्यो तर सफल हुन सकेन । संकटकाल लागेपछि भने मस्तानलाई गिरफ्तार गरियो । यो पहिलो पटक थियो जब हाजी मस्तान जेल गएका थिए । यहीँबाट हाजी मस्तानको जिन्दगी बदलिनेवाला थियो । जेलमा मस्तानको भेट जेपीसँग भयो । जेपीको सम्पर्कमा आएपछि मस्तान उनीबाट निकै प्रभावित भए । १८ महिना जेलमा बसेर बाहिर आएपछि मस्तानको उद्देश्य बदलिइसकेको थियो । उनले अपराधको दुनियालाई अलविदा भन्ने मन बनाइसकेका थिए ।

संकटकालमा जेल गएपछि मस्तानले आफ्नो रिहाइको लागि प्रधानमन्त्री इन्दिरा गान्धीलाई ठूलो रकम दिने अफर गरेका थिए तर इन्दिराले उनको अफर अस्वीकार गरेकी थिइन् ।  संकटकालपछि जब जनता पार्टीको सरकार बन्यो, हाजी मस्तानसहित करिब ४० तस्करले माफी पाए । संकटकाल लाग्नुभन्दा पहिले मस्तानले जनता पार्टीका कैयौं नेताहरुलाई पुलिसबाट बचाउन र भाग्न सहयोग गरेका थिए जसको पुरस्कार उनले पछि पाएका थिए ।

अन्ततः १९८० मा हाजी मस्तानले अपराधको दुनियालाई अलविदा भन्दै राजनीतिमा कदम राखे । १९८४ मा महाराष्ट्रका दलित नेता जोगिन्दर कावडेसँग मिलेर आफ्नै पार्टी दलित मुस्लिम सुरक्षा महासंघ बनाए । पछि १९९० मा यसको नाम फेरेर भारतीय अल्पसंख्यक महासंघ बनाइयो । बलिउडका सुपरस्टार दिलिप कुमारले यो पार्टीको निकै प्रचार गरे । उनी पार्टीका धेरै कार्यक्रममा देखिन्थे । हाजी मस्तानको यो पार्टीले पछि मुम्बइ, कोलकाता र मद्रासको निकाय चुनाबमा सहभागिता जनायो । चुनावमा पार्टीले सफलता त पाएन तर यो चुनावमा कालो धनको ठूलो मात्रामा उपयोग गरिएको बताइन्छ । त्यही बेलादेखि चुनावमा ठूलो मात्रामा पैसा खर्च गर्ने चलन स्थापित भएको बताइन्छ ।

हाजी मस्तान मुम्बइ अण्डरवर्ल्डका सबैभन्दा शक्तिशाली माफिया डन थिए । तर, यी शक्तिशाली डनले आफ्नो पूरै जिन्दगीमा कसैको ज्यान लिएनन् । कसैमाथि हमला गरेनन् । यतिसम्म कि उनले पूरै जिन्दगीमा एउटा पनि गोली चलाएनन् । यति अहिंसाका साथ पनि हाजी मस्तान मुम्बइ माफियाको सबैभन्दा ठूलो र शक्तिशाली नाम बनेका थिए । त्यतिबेला उनको नामको प्रभाव मुम्बइ मात्र नभइ पूरै महाराष्ट्रमा थियो । हाजी मस्तानले जिन्दगीभर मुम्बइमा दीनदुखीहरुको सहयोग पनि गरिरहे । उनले अन्तिम समय आफ्नो परिवारसँग बिताए । उनको परिवारमा उनकी पत्नी र धर्मपुत्र थिए । १९९४ मा हर्ट एट्याकका कारण हाजी मस्तानको मृत्यु भयो । आज पनि मुम्बइका पुराना मान्छेहरु हाजी मस्तानका रोचक किस्सा सुनाउँछन् । (‘आज तक’बाट अनुवादित)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्