करारमा शिक्षक नियुक्ति गर्ने तयारी



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला तर्फको नतिजा आउनमा भएको ढिलाई र अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्णको संख्या धेरै भएपछि ग्याप अवधिभरका लागि करार शिक्षक राख्ने जनाएको छ ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले अस्थायी शिक्षकको आन्तरिक र खुलाको नतिजा फरक समयमा आउने हुनाले केही समयका लागि करारमा शिक्षक राख्नैपर्ने बाध्यता रहेको जनाए ।

उनले भने, “खुलाको नतिजा चाँडै भइदिएको भए ग्याप कम हुन्थ्यो । १० देखि १५ प्रतिशत अस्थायी शिक्षक अनुत्तीर्ण हुने अुनमानका आधारमा त्यति प्रतिशतको लागि खुल्ला विज्ञापनमा पहिले नै बढी जनशक्ति मागिसकेका थियौं । तर, नतिजा अर्कै आइदिएकोले अर्को खुल्ला विज्ञापन र नतिजा प्रकाशनसम्मका लागि करार नियुक्ति गर्नै पर्ने हुन्छ ।”

पछिल्लो नतिजा अनुसार झण्डै ४० प्रतिशत अस्थायी शिक्षक अनुत्तीर्ण भएपछि ठूलो ग्याप हुने अवस्था आएको हो । महानिर्देशक पोडेलका अनुसार त्यति धेरै शिक्षक अनुत्तीर्ण भएकोले स्थान खाली राख्न नहुने हुँदा त्यसो गर्नु परेको जनाए । यद्यपि खुलाको विज्ञापन चाडैं आउने उनले जनाए ।

वैकल्पिकको सूचि राख्दापनि त्यो सूचीले मात्रै नपुग्ने भएकोले करार सूचीपनि प्रकाशित गरिने उनको भनाई थियो । उनले करारमा अस्थायी शिक्षक परीक्षामा उत्तीर्ण हुन नसेकका तर मेरिट लिस्टमा भएकाहरुलाई नै करारमा राख्ने जनाए ।

केन्द्रका महानिर्देशक पौडेलले करार शिक्षक नियुक्त गर्दा सडकबाट टिपेर भने नल्याउने जनाउँदै भने, “करार सूचीमा शिक्षक सेवा आयोगले प्रकाशन गरेका आन्तरिक तर्फका मेरिट लिस्टका बाहेक अरुलाई भर्ना गर्न पाइदैन भनेर जिल्ला शिक्षा समन्वय इकाइलाई पहिलेनै लेख्छौ र सो सिफारिस विभागसँग हुनेछ । ”

उनले इकाइलाई पत्र पठाउँदै ‘करार सूचि यसैसाथ संलग्न छ, यसबाट मात्रै नियुक्ति गर बाहिरबाट करारमा शिक्षक राख्न पाइदैन’ भनिने जनाउँदै थपे,“त्यसो गर्दा न्युनतम योग्यता हासिल गरेका र आयोेगको छनौटमा वैकल्पिकमा परेकाहरुले अवसर पाउने छन् । ”

महानिर्देशक पौडेलले आयोगले मेरिट लिस्टको आधारमा नाममात्रै सिफारिस गर्न पाउने बताउँदै त्यसपछि ती शिक्षकलाई पदस्थापन गर्ने प्रावधानसहित इकाइलाई चिठी लेख्ने र पदस्थापन गरिने उल्लेख गरे ।

केन्द्रका महानिर्देशक पौडेलले आन्तरिक र खुला दुइटै नतिजा प्रकाशन भएपछि र रिक्त सबै पदमा नयाँ नियुक्तिपछि भने अहिले करारमा नियुक्ति हुने कुनै पनि शिक्षक नरहने जनाए । उनले ती स्थायी नहुने बताउँदै भने, “तिनीहरु परीक्षाबाट आउनु पर्छ तर अब तिनीहरुलाई भनेर आन्तरिक परीक्षा चाहिं खोल्दैनौ, आन्तरिक तर्फको यो अन्तिम परीक्षा हो ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्