भरतपुर महानगर प्रमुखमा रेणु दाहाल विजयी, उपप्रमुख पनि महिला



सैघाली खबर

काठमाडौं, साउन २२

 

सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । हिजो बेलुका सार्वजनिक भएको मतपरिणामअनुसार ४३ हजार १२७ मत प्राप्त गरी दाहाल विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको छ । ज्ञवाली २०३ मत कम ल्याउँदै पराजित हुनुभएको हो । यसैगरी, महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुनुहुन्छ । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते नै मतदान भए पनि वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयले फेरि त्यो वडामा मतदान भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्