गैरखाद्य पदार्थ, इन्धन र तयारी पोशाकको मूल्य बढ्यो



काठमाडौं । गत कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ९ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालू आवमा भने बढेको हो ।

खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा तलब तथा ज्यालादर सूचकांकमा पनि वृद्धि हुँदा उपभोग्य सामग्रीको मूल्य बढेको हो ।

२०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य १ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति अघिल्लो वर्षभन्दा न्यून रहेको हो ।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मूल्य ५ दशमलव १ प्रतिशतले बढेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको दावी छ ।

२०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४ दशमलव ६ प्रतिशत, काठमाडौं उपत्यकामा ४ दशमलव ५ प्रतिशत, पहाडमा ४ दशमलव ३ प्रतिशत र तराईमा ३ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ४ प्रतिशत, ३ दशमलव २ प्रतिशत, ४ दशमलव ७ प्रतिशत र ३ दशमलव ७ प्रतिशत रहेको थियो ।

२०७५ कात्तिक महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३ दशमलव ९ प्रतिशत हुँदा भारतमा भने ४ दशमलव ९ प्रतिशतले उपभोग्य सामाग्रीको मूल्य बढेको थियो ।

२०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ० दशमलव ८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्