संघीय संसद्को हिउँदे अधिवेशन आजबाट



काडमाडौ ।संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार बुधबार अपराह्न ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार दुई/दुईवटा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त हिउँदे अधिवेशन प्रारम्भ गर्नेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउने, दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यायदेश प्रस्तुत गर्ने कार्यसूची सचिवालयले तयार गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा समेत राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र दलीय हिसाबमा नेताहरूले सम्बोधन गर्ने, अध्यादेश विधेयक पेस गर्ने कार्यसूची तय भएको नेकपाका राष्ट्रिय सभाका नेता खिमलाल भट्टराईले बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकले पूर्वसांसदत्रय चक्र बास्तोला, पद्मरत्न तुलाधर र मोतीदेवी थारूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालय प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए ।

 धमाधम बिजनेस आउँदै
संघीय संसद्को दुवै सदनबाट आगामी २१ फागुन अर्थात् संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको मितिले एक वर्षभित्र संविधानसँग बाझिने सबै कानुन संविधानअनुकूल बनाउनुपर्ने संवैधानिक व्यवस्था छ । हाल मुलुकमा ३३९ वटा कानुन कार्यान्वयन अवस्थामा छन् । संविधान निर्माणपछि बनेकासहित १६५ वटा कानुन संशोधन गर्न आवश्यक नदेखिएको सरकारको ठहर छ । संशोधन गर्नुपर्ने १७४ कानुनमध्ये सातवटा विधेयक मन्त्रिपरिषद्को विधेयक शाखाबाट स्वीकृत भइसकेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । बाँकी १६७ मध्ये ५५ वटा कानुन एकैपटक संशोधन गर्ने गरी तथा तथा कर फस्र्योट आयोग ऐन खारेजी गर्नेसहित ५६ वटा कानुनको विषयमा प्रस्ताव सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मार्फत प्रतिनिधिसभामा दर्ता गराइसकेको छ ।

चार नयाँ विधेयक दर्ता 
सरकारले पछिल्लो यस हप्ता मात्रै चारवटा विधेयक संसद्मा दर्ता गराएको छ । जसमध्ये प्रतिनिधिसभामा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक, पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत आइतबार दर्ता भएको छ । सरकारले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । सो विधेयक राष्ट्रिय सभामा पनि दर्ता भएको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाहल पुनर्सरचना गर्न झन्डै साढे तीन करोड खर्च गरेको एक वर्ष नबित्दै प्रतिनिधिसभाको हलको कुर्सी, टेबुल तथा माइक हेरफेर गरिएको छ । संसद् बैठकका क्रममा सबै कुर्सीअघि टेबुलको व्यवस्था नभएको, माइक कमसल परेको, ६०१ सदस्यीय संविधानसभाका सबै कुर्सी रहँदा संसद् बैठकमा सांसदहरू भएकै समयमा समेत खाली देखिने गरेकोलगायतका गुनासो सांसदहरूले नै गरेपछि सचिवालयले सबै कुर्सीको लहरअघि टेबुलको व्यवस्था तथा कमसल माइकको ठाउँमा नयाँ माइकको व्यवस्था तथा कुर्सीको संख्या हेरफेर गरेको छ । सचिवालयले यसपटक १० लाख रुपैयाँभन्दा बढी खर्च गरेको स्रोतले बतायो ।

सत्तारुढ नेकपाका लागि २१० र प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि १०२ वटा सिट व्यवस्थापन गरिएको छ । त्यस्तै, सरकारमा सहभागी हुने बढीमा २५ मन्त्रीका लागि सिट व्यवस्थापन गरिएको छ भने राजपालाई कम्तीमा १९ र फोरमलाई कम्तीमा १८ वटा रहने गरी सिट व्यवस्थापन गरिएको छ । स्वतन्त्र सांसदका रूपमा रहेका पाँच सांसदका लागि सभामुख कक्षबाट बायाँतिर सिट व्यवस्थापन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्