अन्तर्राष्ट्रिय

इन्डोनेसियाले अब सुनामीबारे पूर्व सूचना दिने प्रणाली बनाउने

By थाहा अनलाइन

December 26, 2018

इन्डानेसियाले अब समुद्रमुनि जाने पहिरोका कारण आउने सुनामीबारे पूर्व सूचना दिने प्रणालीको विकास गर्ने योजना बनाएको छ । यो प्रणालीले समुद्री छालको आकारलाई अनुगमन गरेर सुनामीबारे पूर्व जानकारी दिन सक्ने सरकारी अधिकारीले बताएका छन् ।

इन्डोनेसियाको सरकारी निकायले बीबीसीलाई बताए अनुसार सुनामीबारे पूर्व जानकारी दिने प्रणालीको विकासको काम आउँदो वर्षदेखि सुरु गरिने छ ।

इन्डोनेसियामा गएको शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२९ पुगेको छ ।

यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् ।

 

प्रकोपका कारण हजारौं स्थानीयवासीन्दा विस्थापित भएका छन् । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको छ । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।