अपराध

गहना चोरी गर्ने दशजना पक्राउ

By थाहा अनलाइन

December 26, 2018

काठमाडौँ, पुस  ११-  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ ।वृत्तको टोलीले उ पत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो ।चोरी गरेका गहना उनीहरुले न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए ।

त्यही गहना स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ