धेरै युवाहरुको यो चासोको विषय हो । कतिपय युवाहरु त यो विषयलाई लिएर बढी नै तनावमा बस्ने गर्दछन् । यसको विषयमा के हो त खास कुरो तलको लेख हेर्नुहोस् ।
बांगो लिंग
पहिले लिंगको संरचनाका सम्बन्धमा केही कुरा गरौं । लिंग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ । लिंग उत्तेजित हुँदा यिनै संरचनामा रगत भरिन्छ र लिंग मोटो र कडा हुन्छ । उत्तेजित नभएका बेला लिंग एउटा लचिलो अंगका रूपमा रहन्छ र त्यसको बांगोपनको खासै आभास हुँदैन । उत्तेजित हुँदा मात्र त्यसको बांगोपन स्पष्ट देखिन्छ ।
व्यक्ति–व्यक्तिअनुसार लिंगको नाप र आकारमा भिन्नता हुन्छ । यो लिंगको विकासका क्रममै देखिने कुरा हो । हाम्रो शरीरको पनि दायाँ–बायाँ भाग ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ । शरीरको बीचमा पर्ने भएकाले शरीरको विकासको क्रममा लिंगमा पनि त्यसको प्रभाव देखिन्छ ।
सबै पुरुषको लिंगको आकार एकै किसिमको हुँदैन र उत्तेजित अवस्थामा एकदम सीधा नभै लिंग आफैंमा केही मात्रामा टेढो (बांगो) हुन्छ । यो सामान्य कुरा हो । तपाईंले आफ्नो लिंग कुन अर्थमा बांगो मान्नुभएको हो तथा कसरी आफ्नो लिंग सामान्यभन्दा बांगो भएको थाहा पाउनुभयो भन्ने कुरा बुझ्नु आवश्यक छ । कतिपयले लिंग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बांगोपनको कुरा गर्छन् ।
टेढोपन निकै छ भने समस्या गम्भीर हुन सक्छ, तर त्यस्तो स्थिति विरलै हुन्छ । मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको (hypospadias) स्थितिमा लिंग तलतिर बांगो हुन्छ । लिंग निश्चित (स्थायी) रूपमा बांगो भएको अवस्थालाई chordee भनिन्छ ।
मूत्रद्वारको संक्रमण पनि बांगोपनको कारण हुन सक्छ । Peyronie’s disease मा सामान्य लिंग अकस्मात् निकै बांगो हुन गै यौनसम्पर्क नै गर्न नसक्ने स्थिति उत्पन्न हुन्छ र दुख्छ पनि । पक्का रूपमा कारण थाहा नभएको यो रोग अक्सर ४० वर्षभन्दा माथिका मानिसलाई लाग्छ, जुन तपाईंलाई हुने कुरा भएन । यस्ता गम्भीर समस्याहरूका लागि मात्र चिकित्सकको सहयोग आवश्यक हुन्छ ।
बांगो लिंग र यौनसम्पर्क
तपाईं विवाहित भैसक्नु भएकाले यौनसम्पर्कमा कुनै कठिनाइ भए–नभएको त पक्कै अनुभव गर्नुभएको होला, तर यहाँ तपाईंले उल्लेख नगर्नु भएका कारण यौनसम्पर्कमा कठिनाइ नभएको कुरालाई संकेत गर्छ । पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिंगको बांगोपनले यौनसम्पर्कलाई कुनै किसिमको बाधा पुर्याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ ।
आसन मिलाउन सकिएको खण्डमा एक हदसम्मको लिंगको बांगोपनले महिलालाई यौन सुख प्रदान गर्न मद्दत नै गर्छ । बांगोपनले लिंगको मोटोपन बढी भएको जस्तो कार्य गर्छ र त्यसले पीडा भएको हो भने लिंग प्रवेश र त्यसपछिको गतिलाई आसन र कोण मिलाउन सकिए एक हदसम्म पीडा कम गर्न सकिन्छ । बांगोपन धेरै भएको स्थितिमा भने यसको उपचार गर्ने प्रयास गर्नु उचित हुन्छ ।
अधिकांश महिलाको यौन संवेदनशील अंग भगांकुर बाहिर नै हुन्छ र त्यसको घर्षणका लागि लिंग नै चाहिने होइन । त्यसैले समस्या गम्भीर नहुँदा आफ्नो लिंग सोझ्याउने तिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नतिर लाग्नु बुद्धिमानी हुन्छ ।
पिसाबको बांगो धारा
मूत्रनली गोलो नभै माथि–तल गरी केही थेप्चिएको (horizontally flattened) हुन्छ भने मूत्रद्वारको कुरा गर्दा यो दायाँ–बायाँ गरी थेप्चिएको (vertical ellipse shape) हुन्छ । यस किसिमको संरचनाले गर्दा पिसाब फेर्दा यसको धारा यसरी बटारिन्छ कि जसको नतिजा एक धाराका रूपमा पिसाव बाहिर आउँछ ।
यसमा कुनै किसिमको अवरोध आएको स्थितिमा धारा अर्कातिर जाने वा मसिना सिर्का जस्तो आउने हुन्छ । यस्तो माथि भनिएको hypospadias वा मूत्रनलीमा कुनै चोटपटक वा संक्रमणको कारणले खत बस्नु जस्ता कारणले हुन सक्छ ।
कतै हस्तमैथुनले लिंग बांगो बनाएको हो कि ?
माथि नै भनिसकियो, लिंग ज्यादै बांगो हुने एउटा प्रमुख कारण Peyronie’s Disease हो । यसको पक्का कारण थाहा हुन नसके पनि धेरै अनुसन्धानकर्ताले लिंगमा चोट लाग्दा थोरै नै भए पनि भित्र रक्तश्राव हुन्छ र त्यसमै fibrous plaque बन्न थाल्छ । यस्तो स्थितिमा बिस्तारै लिंगको लचिलोपन कम हुने हुँदा उत्तेजित लिंगमा बांगोपन देखिन्छ र पीडा समेत हुन्छ ।
कतिपय स्थितिमा लिंगमा यसरी चोटपटक लागेको होला भनेर राम्रोसँग सम्झना पनि नहुन सक्छ । अन्य केही स्थितिमा यसको कारण वंशाणुगत पनि हुन सक्छ भनिन्छ ।
सामान्य रूपमा गरिने हस्तमैथुनले लिंगलाई बांगो बनाउँदैन । तपाईंले कसरी हस्तमैथुन गर्दै आउनुभएको छ भन्ने कुरा लेख्नुभएको छैन । असावधानीवश तपार्इंले हस्तमैथुन गर्ने क्रममा वा अन्य कारणले लिंग बारम्बार चोटपटक लाग्ने स्थिति छ कि छैन विचार गर्नुपर्छ ।
अहिले तपाईं युवावस्थामै हुनुभएकाले यस्तो सम्भावना कम भए पनि हुँदै नभएको भन्नेचाहिँ होइन । Peyronie’s Disease को उपचारका लागि केही औषधीको सेवन वा सुई दिने वा शल्यक्रियाजस्ता उपाय अपनाइन्छ । यसको उपचारका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्छ ।
हस्तमैथुन तथा ढाडको पीडा
सामान्यत: हस्तमैथुनले ढाड दुख्ने समस्या गराउँदैन । युवा अवस्थामा तपाईंको शरीरको आसन वा भनौं बस्ने, हिँड्ने वा काम गर्ने तरिका नै ढाड दुख्ने प्रमुख कारण हुन्छ । केही स्थिति, जसमा अति नै हस्तमैथुन गरिन्छ, त्यससँगै भने ढाड दुख्न सक्ने बताइन्छ । फलानो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।