मुख्य समाचार

व्यवस्थापिका– संसद्को अर्को बैठकमा सो बारे जवाफ दिन सरकारलाई निर्देशन

By थाहा अनलाइन

August 06, 2017

सैघाली खबर, काठमाडौं, २२ साउन । नेकपा एमालेका सांसद बैठक चलिरहेका बेला जर्याक जुरुक उठेपछि संसदमा हंगामा भएको छ ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा सरकारको ध्यानाकर्षण नगराएको भन्दै संदनको कारवाही अगाडि बढ्न नदिने चेतावनी दिँदै एमाले सांसदहरु एकाएक जर्याजुरुक उठेपछि सभामुख ओनसरी घर्ती नै झस्किएकी छन् । उनले तत्कालै सरकारको ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमाले सांसद बसेका थिए ।

एमालेको माग पछि सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराइन् । उनले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिइन् ।

त्यसअघि आजको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा ९एमाले०का प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरे । उनले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटकपटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको तथ्य उनले सदनमा प्रस्तुत गरे ।

सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उभिएका थिए ।

विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बस्नुभएपछि बैठक सञ्चालन भएको थियो ।