श्रम सम्झौतामा छलफल गर्न जापानबाट टोली नेपाल आउँदै



जापान सरकारले नेपाली कामदारलाई आप्रवासी कामदार ( ब्लु कलर ) का रुपमा लैजाने प्रकृयाको काम अन्तिम चरणमा पुर्याएको छ।  यो भन्दा अगाडी जापान सरकारले औद्योगिक प्रशिक्षार्थी जिट्को मार्फत नेपाली कामदार लैजादैं आएको थियो।  अब नेपाली कामदारलाई अन्य विभिन्न क्षेत्रहरुमा समेत जापानले लैजाने भएको छ।

नेपाली श्रमिक जापान पठाउने सम्बन्धमा नेपाल र जापानबीच द्विपक्षीय श्रम सम्झौता (एमओयू) गर्ने सम्बन्धमा काम अन्तिम चरणमा पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। दुई देशबीच हुने श्रम सम्झौताको लागि ड्राफ्ट समेत तयार भइसकेको मन्त्रालयले जनाएको छ।

नेपालबाट कामदार लैजाने सम्बन्धी निर्णयसमेत जापानको मन्त्रिपरिषद्को बैठकले गत मंगलबार पारित गरिसकेको छ। नेपाली कामदारका लागि जापान निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्न सक्ने सरकारले विश्वास लिएको छ।

नेपालले पनि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को मापदण्ड अनुसार श्रम सम्झौता गरेर मात्र जापानमा नेपाली कामदार पठाउने जनाएको छ। यस विषयमा थप छलफल परराष्ट्र मन्त्रालय अन्र्तगत प्राविधिक टोलीबीच छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

नेपाल र जापान सरकारबीचमा कामदार आपूर्ति सम्बन्धमा छलफल चलिरहेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन्। दुवै देशबीच सरकारी स्तरमा दोहोरो श्रम सम्झौताका लागि तयार गरिएको ड्राफ्टमा दुवै पक्षकाबीच थप छलफल हुने बताइएको छ।

अब केही महिना भित्रनै ड्राफ्टमा थप छलफल पछि जापान र नेपालबीच श्रम सम्झौतामा अन्तिम टुंगो लाग्ने सचिव दाहालले बताए।  जापानसँगको श्रम सम्झौताको विषयमा बाहिर खासै कुरा नआएपनि नेपालसँग श्रमसम्झौताका लागि जापान तयार भएको हुँदा नेपाल सरकार पनि जापानसँग श्रम सम्झौताका लागि सकारात्मक रहेको मन्त्रालयका उपसचिव दिपक ढकालले जानकारी दिए।

जापानले निकै अगाडिदेखि नै नेपाली कामदार लैजानका लागि श्रम सम्झौताको प्रस्तावको कुरा उठान गर्दै आए पनि नेपाली कामदार व्यवसायिक काममा पठाउनमा मन्त्री गोकर्ण विष्टले जोड दिँदै आएको मन्त्रालयले बताएको छ।

जापान सरकारले मंगलबारदेखि लागू हुने गरी नयाँ नीति पारित गरेको छ। यसै अनुरुप विदेशी कामदारसमेत जापानमा कामदारका रुपमा जान पाउने भएका छन्। जापानले अन्य ८ वटा मुलुकसहित नेपालबाट कामदार लैजाने जापानी न्याय मन्त्रालयले जनाएको हो।

आप्रवासी कामदारका लागि जापानी भाषा अनिवार्य 

जापानले मंगलबारबाट सुरु गरेको नयाँ नियम अनुसार आप्रवासी कामदारका लागि जापानी भाषाको छुट्टै कक्षा सञ्चालन गरी प्रशिक्षण दिने भएको छ।

जापानले विदेशी कामदार व्यवस्थित तरिकाबाट लैजान भएको छ। जसका लागि आवश्यक लागत समेत १ वर्षका लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ।

जापानले अघिल्लो चरणमा कम्तिमा पनि ३ लाख ४५ हजार आप्रवासी कामदारहरु जापान लैजाने तयारी गरेको बताएको छ। नेपालबाट भने ३० हजार भन्दाबढी कामदारहरु पठाउन जापान सरकारलाई अपिल गर्ने मन्त्रालयले जानकारी दिएको छ।
विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार

जापानका कृषि, उद्योग, व्यापार, होटल, केयरगिभर लगायतका विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। जापान सरकारले आप्रवासी कामदारलाई केयरगिभर कामका लागि प्राथमिकता दिने बताएको छ। कामदारको सीप परीक्षण गरी सोही अनुरुपको काम उपलब्ध गराउनेसमेत जापान सरकारले लक्ष्य लिएको छ।

जापान र नेपालबीच श्रम सम्झौतामा छलफल गर्न टोली नेपाल आउँदै

जापान र नेपालबीच श्रम सम्झौताका लागि थप छलफल गर्न जापानबाट टोली नेपाल आउने मन्त्रालयले जनाएको छ। आउँदो जनवरीको तेस्रो साता भित्र जापानबाट प्राविधिक टोली नेपाल आउने भएको हो। नेपाल र जापान दुवै देशका प्राविधिक टोलीबीच थप छलफल भएपछि नेपाली कामदार कुन प्रकृयाबाट जापान पठाउने विषयमा टुंगो लाग्ने मन्त्रालयले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्