यी हुन् विश्वका शक्तिशाली नेता, कस्को तलब कति ?



ली सिन लुङ प्रधानमन्त्री, सिंगापुर वार्षिक २० लाख अमेरिकी डलर

सिंगापुरका प्रधानमन्त्री ली सिन लुङ विश्वमै सबैभन्दा बढी तलब लिने नेता हुन् । उनले तलबबापत वार्षिक २० लाख डलर लिन्छन् । उनले पाउने सुविधा देशका निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरूले कमाउनेभन्दा पनि धेरै भएको बताइन्छ ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति वार्षिक एक अमेरिकी डलर

राष्ट्रपतिमा निर्वाचित हुनुअघि ट्रम्पले तलब नलिने घोषणा गरेका थिए । उनले यो वाचा पूरा गरेका छन् । ट्रम्पले राष्ट्रपतिको तलबबापत बर्सेनि एक डलर लिन्छन् ।

हर्वट हुवर र जोन अफ केनेडीले पनि ट्रम्पले जस्तै तलब लिएनन् । अमेरिकी राष्ट्रपतिको वार्षिक तलब चार लाख डलर हुन्छ । आफूले प्राप्त गर्ने तलब कसलाई दान गर्ने भन्नेबारे ट्रम्पले गत वर्षको मार्चमा सञ्चारमाध्यमको समेत सुझाब लिएका थिए ।

नरेन्द्र मोदी प्रधानमन्त्री, भारत वार्षिक दुई लाख ७६ हजार अमेरिकी डलर, मासिक भत्ता आठ सय ८३ अमेरिकी डलर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिवर्ष दुई लाख ७६ हजार डलर लिन्छन् । उनी विभिन्न शीर्षकमा अन्य सुविधा पनि लिन्छन् । मोदीको मासिक भत्ता आठ सय ८३ डलर छ ।

थेरेसा मे प्रधानमन्त्री, बेलायत वार्षिक १ लाख ७० हजार अमेरिकी डलर

बेलायती प्रधानमन्त्री थेरेसा मे पनि धेरै तलब लिने नेतामा पर्छिन् । उनले तलबबापत बर्सेनि एक लाख ७० हजार डलर लिन्छिन् । यो रकम जर्मन चान्सलर एन्जिला मर्केलको भन्दा कम हो ।

एन्जिला मर्केल जर्मन चान्सलर वार्षिक २ लाख २७ हजार अमेरिकी डलर

जर्मन चान्सलर एन्जिला मर्केल पनि धेरै तलब लिने नेतामा पर्छिन् । उनले वार्षिक दुई लाख २७ हजार डलर हाराहारीमा कमाउँछिन् ।

सि जिन पिङ प्रधानमन्त्री, चीन वार्षिक २२ हजार अमेरिकी डलर

चीनका राष्ट्रपति सी जिन पिङको आम्दानी भने अन्य नेताहरूको भन्दा तुलनात्मक रूपमा थोरै छ । सीको वार्षिक तलब २२ हजार डलर छ ।

भ्लादिमिर पुटिन रसियाली राष्ट्रपति वार्षिक एक लाख १२ हजार अमेरिकी डलर

लगातार चौथोपटक राष्ट्रपतिमा निर्वाचित रसियाका वर्तमान नेता भ्लादिमिर पुटिन पनि तलब कटौतीको मामिलामा त्यति उदार छैनन् । खाद्यान्नको चर्को मूल्यवृद्धि र पश्चिमा राष्ट्रहरूको प्रतिबन्धबीच सन् २०१५ मा पुटिनले आफ्नो तलबमा १० प्रतिशत कटौती गर्ने घोषणा गरे ।

पुटिनले आफ्नो कार्यालयका कर्मचारीलाई पनि यो बाध्यकारी नियम बसालेका थिए । तलबबापत पुटिनले बर्सेनि एक लाख १२ हजार डलर लिन्छन् । पुटिनले सन् २०१७ मा घोषणा गरेको सम्पत्ति विवरणमा उनले सन् २००१ देखि सन् २०१६ को अवधिमा राष्ट्रपतिको तलबबापत ६ लाख ७३ हजार डलर लिएको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्