सामाजिक सञ्जालको हतारोले जीवितलाई श्रद्धाञ्जली !



दाङ । घोराहीका धिरज अधिकारीलाई शुक्रवार राती फोन आयो। उनका एक साथीले धिरजलाई टेलिफोनबाट समवेदना प्रकट गरे। धिरज अम्मित भए। तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा मृत्यु भएको भन्दै फेसबुकमा धिरजकी श्रीमतीको तस्बिर प्रकाशित भएको रहेछ।

धिरजकी श्रीमती सहित तीनजनाको तस्बिरमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको तस्बिर फेसबुकमा प्रकाशित भएको थियो। तस्बिरमा देखिएका तीनै जना उक्त बस दुर्घटनामा परेका थिएनन्। ‘जीवित श्रीमतीलाई मृत्यु भएको भनेर फेसबुकमा लेखिदिँदा साह्रै नराम्रो लाग्यो,’ धिरजले भने ‘नमरेको मान्छेलाई समेत मृत घोषणा गरिदिने कस्तो चलन आयो ?’

शुक्रवार बेलुकादेखि तनाव खेप्न थालेका धिरजलाई झनपछि झन खपिनसक्नु बनायो। शनिवार विहान सामाजिक सञ्जालमा उक्त तस्बिर झनै फैलिइसकेको थियो। ‘फोन आएको आयै भयो, श्रीमतीको निधन भएको भनेर सबैले फोनमा चाँसो राख्न थाले,’ उनले भने ‘के गरौँ कसो गरौँ भयो,मैले केही सोच्नै सकिन।’

‘नमरेको मान्छेलाई समेत मृत घोषणा गरिदिने कस्तो चलन आयो ?’
सामाजिक सञ्जाललाई सूचनाको ठूलो स्रोतका रुपमा उपयोग गर्ने क्रम बढ्दै गइरहेको छ। तर सुचना प्रकाशित गर्न हतार गरिँदा सामाजिक सञ्जाल पीडा दिने माध्यम समेत बनिरहेको छ। अँझ विशेषतः श्रद्धाञ्जली दिने हतारोले सामाजिक सञ्जाल मार्फत जीवित ब्यक्तिलाई समेत मृत घोषणा गरिएका थुप्रै उदाहरण छन्। तुलसीपुर बस दुर्घटनाकै सन्दर्भ जोडेर घोराहीकी सिरिश्मा गिरीको फोटोमा पनि हार्दिक श्रद्धाञ्जली लेखेर फेसबुक मार्फत सार्वजनिक भयो।

‘श्रद्धाञ्जली लेखिएको मेरो तस्बिरमा मुख छोपिएको थियो, त्यसैले अरु आफन्ती साथीहरुले चिन्नु भएन,’उनले भनिन् ‘तर आफ्नो फोटोमा श्रद्धाञ्ली लेखेको देख्दा साह्रै मन दुखेको थियो।’ उनकै साथी रक्षा ओलीलाई पनि सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिइएको थियो। ‘हामी अध्ययनरत भिक्टोरिया कलेजका धेरै साथीहरुको फोटोमा श्रद्धाञ्जली लेखेर फेसबुकमा आएको थियो,’सिरिश्माले भनिन् ‘धेरैजना साथीहरुलाई फेसबुकको फोटोले तनावित बनाएको थियो ।’

केही दिनअघि घोराहीमा नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा घोराहीमा –याली गरिएको थियो। उक्त –यालीमा पत्रकार सहित विभिन्न कलेजका विद्यार्थीहरु समेत सहभागी भएका थिए। उक्त –यालीमा बस दुर्घटना भएको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालयका विद्यार्थीहरु पनि सहभागी थिए।

दुर्घटना पश्चात कृष्ण सेन ईच्छुकका विद्यार्थीहरुको त्यहि बेला खिचिएका सामुहिक तस्बिर सामाजिक सञ्जालमा राखिए। त्यससंगै अन्य कलेजका विद्यार्थीहरुका तस्बिरहरु समेत राखेर श्रद्धाञ्जली दिइएको थियो। ‘हामीहरु छुट्टै कलेजका विद्यार्थीहरु पनि थियौँ, तर फोटो राख्दा खेरी हामी सबैको तस्बिर हार्दिक श्रद्धाञ्जली भनेर राखियो,’सिरिस्मा ले भनिन् ‘ग्रुप फोटो मात्रै नभएर हामीहरुको छुट्टै फोटोहरु पनि सामाजिक सञ्जालमा मृत भनेर हालियो।’

सामाजिक सञ्जाल प्रयोगमा गरिएको हेलचेक्र्याईँका कारण धेरै यस्ता परिवारलाई अनाहकमा पीडा दिने काम भएको छ। जिल्लाको पछिल्लो उदाहरण मात्रै हैन, सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिन हतार गर्ने प्रवृत्तिका कारण धेरै जीवित नागरिकहरुलाई मृत घोषणा गरिएका छन्। विशिष्ट व्यक्तित्वहरुलाई समेत श्रद्धाञ्जली दिने नाउँमा थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु चिप्लिएका छन् ।

काँंग्रेस नेता चक्र बास्तोलालाई समेत श्रद्धाञ्जली दिन हतारो गरिएको अर्को यसको पछिल्लो उदाहरण हो। सिकिस्त अवस्थामै रहेका बेला नेता बास्तोलालाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्ति गरिएको थियो। बास्तोलाका बिषयमा विशिष्ट व्यक्तिहरु समेत सामाजिक सञ्जालमा चिप्लीएका थिए।

यसैगरी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही माग गर्दै भएको अन्दोलनमा प्रहरी दमनमा परेर मृत्यु भएको घटनामा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जीवित युवकलाई मृत घोषणा गरिदिएका थिए ।

प्रहरीको गोली लागेर चेतन भट्टको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिनेहरुको होडबाजीनै चलेको थियो। तर उक्त घटनामा मृत्यु भएका चेतन थिएनन्, सन्नि खुना थिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले सोसल मिडिया प्रयोगकर्ताहरुबिच जति सक्यो चाँडो कसैलाई सहानुभूति प्रकट गर्न खोज्ने होड चल्ने गरेका कारण कसैप्रति थप पीडा दिने काम भैरहेको बताउँछन्। जति सक्यो चाँडो सोसल मिडिया मार्फत कसैको सुख वा दुखमा साथ दिन सके आँफू निकटस्थ बन्ने सोँचले यस्ता गलत सुचना बाहिरिने गरेको उनले बताए।

‘कसैको दुख वा सुखमा जति सक्यो चाँडो साथ दिन खोज्ने लहर अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका बिचमा देखिएको छ,’उनले भने ‘यति प्रतिष्पर्धात्मक सोँचका कारण सोसल मिडियाको सुचना अनावश्यक पीडा दिने विषयबस्तु समेत बन्ने गरेका छन्, यसको बलियो उदाहरण तुलससीपुरको राम्री दुर्घटनालाई लिन सकिन्छ।’

सामाजिक सञ्जाल अभिव्यक्ती प्रस्तुत गर्ने सशक्त माध्यम बन्दै गएको भएपनि यसको आचारसंहिताको पालना नहुँदा केही अप्रिय र पीडाँदायिक खवर सार्वजनिक हुने गरेको उनले बताए। ‘अभिव्यक्ति प्रस्तुत गर्ने गतिलो माध्यम अहिले सोसल मिडिया बनेको छ,अभिव्यक्तिी स्वतन्त्रताको आचारसंहिता छ,’उनले भने ‘यो आचारसंहिता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको हकमा पनि उत्तिकै लागु हुनुपर्दछ, यसो हुन सके गलत सुचना प्रवाह गरेर कसैलाई थप पीडा दिने प्रवृत्ति घटेर जाने छ।’

source : nagariknews

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्