मनाङ मर्स्याङ्दी बन्यो ए डिभिजन लिगको च्याम्पियन



काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले आठौँ पटक ए डिभिजन लिगको उपाधि जितेको छ । संकटालाई तीन–एकले हराएपछि मनाङले लिगमा दुई खेल अगाडि नै उपाधि जितेको हो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेका दुवै टिमले एक अर्काको पोष्टमा बारम्बार आक्रमण गरेका थिए ।

जसमा सातौँ मिनेटमा संकटाका इलोनले मनाङका गोलकिपरलाई बिट गरेर प्रहार गरे पनि गोल गर्न सकेनन् । १३ औँ मिनेटमा मनाङका कमल श्रेष्ठको प्रहार क्रसबारमा लाग्न पुग्यो । १५ औँ मिनेटमा फेरि मनाङका हेमन गुरुङको प्रहार क्रसबारमा नै लाग्न पुग्यो । पहिलो हाफको अन्तिममा मनाङले अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफको इन्जुरी समयमा संकटाका गोलकिपर राजाबाबु थापाले विशाल राईको कर्नरमा आएको बललाई क्लियर गर्न नसकेपछि बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले ८१ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि सब्स्टिच्युट खेलाडी पुजन उपरकोटीले गोल गर्न सफल भए ।

त्यसपछि ८७ औँ मिनेटमा विदेशी खेलाडी एडिलाजा सोमीडीको गोलमार्फत मनाङले अन्तर तीन–शून्यमा पुर्यायो । त्यसपछि संकटाका सेड्रिक अवाले ९० औँ मिनेट एक गोल फर्काए पनि टिमलाई हारबाट बचाउन सकेनन् । त्यसपछि संकटा खेलमा फर्कन सकेन र मनाङ घरेलु लिगको सर्वाधिक सफल टिम बन्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्