वाइडबडी जहाज खरिद प्रक्रियामा शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयोः कंसाकार



काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्नुभएको छ । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझी किन प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंसाकारले भन्नुभयो,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझी कसरी बोल्नुभयो ?’

कंसाकारले अगाडि भन्नुभयो, ‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिइसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला रु यसमा राजनीतिक कारण पनि हुनसक्छ ।’

लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उहाँले वाइडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’

२ वटा वाइडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले पनि मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यति बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौँ । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौँ । विमान खरिद प्रक्रिया पनि विकास निर्माणको काम हो ।’

कंसाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजीनामा नगर्ने पनि बताउनुभयो । इतिहासमै सबैभन्दा कम मूल्यमा जहाज खरिद गरेको दावी गर्दै उहाँले विरोध गर्नेहरुले कुरै नबुझेको बताउनुभएको छ ।

कंशाकारले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्वीकार गर्नुभएको छ । यद्धपि हाँले जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दावी गर्नुभयो ।

वाइडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टिकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विमान खरिदको बोलपत्र प्रक्रिया ठीक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।’ अदालतको लिखित फैसला नै पत्रकारहरुसमक्ष पढेर उहाँले सुनाउनु भएको थियो ।

रवीन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’

भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरुसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त रु भनेर सोधेको अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले चाहीँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होइन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो रु उहाँहरु दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरुको विवाद हो । म त सानो मान्छे हूँ ।’

उहाँले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पार्नुभयो ।

वाइडबडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । यद्धपि उहाँले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताउनुभयो । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागे पनि यसमा कुनै सत्यता नभएको पनि उहाँले जिकिर गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्