मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित हुँदा २२ घर जलेर नष्ट



झापा – मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति ८ बजेबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट छेउछाउका अन्य केही घरमासमेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनबत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो ।

आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली शुक्रबार बिहानै घटनास्थल पुगको छ ।  रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्