लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो



सिद्धार्थ महर्जन (भिक्षु निग्रोध) २०७२ जेठ २ मा लुम्बिनी बिकाष कोषको उपाध्यक्ष नियुक्त भएका थिए । नियुक्तिपछि उनले धेरै झमेला र समस्याहरुको सामना गर्नुप¥यो । एकातिर आन्तरिक विवाद अर्कोतिर मधेश आन्दोलन, यी दुई कारणले उनले केही समय लुम्बिनीमा काम गर्न सकेनन् । ७ महिनाजति विकास कोष तनाबमै रह्यो । मधेश आन्दोलन सकिएपछि बुद्ध पूर्णिमा मनाएर लुम्बिनी केही तंग्रिन थालेको छ । विकास कोषले नियमित काममा चासो दिन थालेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै लुम्बिनी विकास कोषले के गर्दैछ, गुरुयोजनाको काम कति बाँकी छ र कहिले सकिन्छ जस्ता विषयमा सी. पी. खनालले उपाध्यक्ष सिद्धार्थ महर्जनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको महत्वपूर्ण अंश ः

मधेश आन्दोलन, कर्मचारीको विवाद जस्ता कारणले लामो समय तनाब झेलेको लुम्बिनीमा अहिले के भईरहेको छ ?
हालै हामीले एउटा आर्थिक वर्ष सक्यौं । समीक्षा ग¥यौं । अबका कामका बारेमा योजना बनायौं । लुम्बिनीले मधेश आन्दोलनका कारण धेरै क्षति बेहोर्नुप¥यो । आन्दोलनकै कारण भौतिक पूर्वाधार तर्फ ५० प्रतिशत र पूजीगततर्फ ४५ प्रतिशत मात्रै बजेट खर्च भएछ । गुरुयोजनाका कामहरु पनि प्रभावित भए । अब हामीले नयाँ ढंगले काम गर्नुछ । ६–७ महिना बिथोलिएको कामलाई पूरा गर्नुपर्ने छ । हामीले गुरुयोजनाको बाँकी कामलाई पनि छिटै सक्नुपर्ने छ । केन्द्रीय नहर, यसको आसपास, प्रशासनिक भवन, सूचना केन्द्रका केही कामहरु बाँकी छन् । न्यू लुम्बिनी भिलेजका यी कामहरु हामीले दशैं अघिसम्ममै पूरा गर्ने योजना बनाएका छौं । दशैं अघि सकेर उद्घाटन गर्ने योजना हाम्रो छ । केन्द्रीय नहरको दायाँ र बाँयाका पोखरीहरुको काम पनि पूरा गर्नेछौं । पानी ट्यांकी निर्माण गरेर पिउने पानीको ब्यवस्था गर्ने, बाँकी रहेका स्थानमा विद्युतीकरण गर्ने, ढल व्यवस्थित गर्ने जस्ता कामहरु हामीले यो आर्थिक वर्षभित्रमा पूरा गर्नेैछौं । बुद्धपूर्णिमामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भनेअनुसार अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको डिजाईन तयार पारेर काम शुरु गरिनेछ । चीन र एडीबीको छुट्टाछुट्टै सहयोगमा सडकमा सोलार बत्ती राख्ने र पवित्र उद्यान क्षेत्रको विद्युतीकरणलाई व्यवस्थित गर्नेजस्ता कामहरु पनि हामीले गर्नेछौं ।

लुम्बिनी गुरुयोजनाको काम कहाँ पुग्यो, के बाँकी छ अब ?
अहिलेसम्म हामीले अनुमान गरेअनुसार गुरुयोजनाको ३२–३४ प्रतिशत काम बाँकी छ । तरपनि अब हामीले गर्नुपर्ने काम के के बाँकी छन् र अहिलेसम्म गरिएका काम कस्ता रहे, अबका काम कसरी गर्नुपर्छ भन्नेबारेमा अध्ययन गर्नका लागि हामीले एउटा कन्सल्टेन्सीसँग सम्झौता गरिसकेका छौं र अध्ययन अनुसन्धानको काम शुरु भइसकेको छ । ४५ दिनभित्रमा बाँकी कामको सम्पूर्ण प्रारुप तयार गर्ने भनेर हामीले जिम्मा दिइसकेका छौं । प्राविधिकहरु खटिईसकेका छन् र अबको केही दिनमा त्यसको रिर्पोट आउने छ । अध्ययनपछि तयार हुने प्रारुप र गर्न बाँकी रहेका कामहरुलाई हामीले सकेसम्म छिटो पूरा गर्ने छौं । अबको ४ वर्षभित्र हामीले गुरुयोजनाका बाँकी काम जसरीपनि पूरा गर्नुपर्छ । ग्लोबल टेण्डर आह्वान गरेरै भएपनि हामीले गुरुयोजना पूरा गर्नेछौं । गुरुयोजना पूरा गर्न ६ अर्ब जति रुपैयाँ लाग्ने देखिएको छ । सरकारले यो रकम दिन तयार रहेको बताइसकेकोले हामी अघि बढेका छौं । अर्थ मन्त्रालय र संस्कृति मन्त्रालयबीच गुरुयोजनाको काम पूरा गर्नका लागि बजेट विनियोजन गर्ने सहमति भइसकेको छ ।

लुम्बिनी विकास कोष चालु आर्थिक वर्षमा केमा केन्द्रित हुनेछ ?
हामी अहिले विकास निर्माणकै काममा बढी समय खर्चनेछौं । लुम्बिनीको प्रचार विभिन्न तरिकाले भइरहेको अवस्थामा लुम्बिनीको संरचना नै पूरा नहुनु राम्रो कुरा हैन । पहिले हामीले लुम्बिनीलाई हेर्नलायक सून्दर र पवित्र स्थल बनाउनु पर्छ । त्यसपछि पर्यटकलाई आउनुस् भन्दा लुम्बिनीको प्रचार राम्रोसँग हुनसक्छ । अहिले पनि पर्यटक आइरहेका छन् तर लुम्बिनीमा निर्माणाधीन संरचना देखेर खिन्न हुने अवस्था आउनुहुन्न । यसैका लागि लुम्बिनी विकास कोष लागिरहेको छ । न्यू लुम्बिनी भिलेजमै प्रशासनिक भवनजस्तै ८ वटा भवन बनाउन बाँकी छ । लुम्बिनी संग्राहालय जस्ता ६ वटा भवन बन्न बाँकी छन्, अडिटोरियम हल, टेलिकम्युनिकेशन, सडकका काम पनि बाँकी छन् । अरु नियमित कार्यक्रमहरु त जारी नै रहनेछन् ।

siddhartha Maharjan
लुम्बिनीमा गुरुयोजना विपरीत पनि काम भए, कोषको विहार नियमावली पनि खासै पालना भएन । यसमा कोष रमिते जस्तै बनेको देखियो नि !
हो, सरकारका तर्फबाट पनि लुम्बिनी गुरुयोजनाको ट्रयाक भन्दा बाहिर गएर काम भयो भन्ने कुराहरु आएका छन् । वर्षौंदेखि भइरहेका कामहरु र अब हुने कामहरु पनि गुरुयोजनाअनुसार हुनुपर्छ र बन्नुपर्छ । जेजति कारणले गुरुयोजनाभन्दा बाहिर गएर काम भएका छन् त्यसमा अब पुनरावलोकन गर्न वा के कसरी सुधार्न सकिन्छ त्यस विषयमा पनि हामीले ध्यान दिनेछौं । हामी छलफलकै क्रममा छौं । यसमा सरोकारवाला पक्ष समन्वय गरेर अघि बढ्ने हो ।

लुम्बिनीमा जे जति संरचना बनेका छन् ती सबै एकखालको सहमतिकै आधारमा बनेका छन् । विहार क्षेत्रमा निश्चित मापदण्ड र नियम पालना गर्नेगरी नै हामीले जग्गा दिएका छौं । विदेशीहरुले बनाएका विहारहरुको विषयमा पनि कुरा उठ्ने गरेका छन् । हामीले जति समय दिएर अनुगमन गर्नुपर्ने थियो त्यो विविध कारणले हुन सकिरहेको छैन । हामी आगामी दिनमा नियमित अनुगमन गर्ने र नियमन गर्ने छौं । तर जति कुराहरु जसरी बाहिर आएका छन् ती सबै सही हुन् जस्तो मलाई लाग्दैन । आफ्नो देश छाडेर लुम्बिनीलाई माया गरेर लगानी जुटाएर यहाँ आएर विहार बनाउने सबैलाई एउटै दृष्टिबाट हेरिनु हुँदैन । एकाध घटनालाई आधार मानेर विश्लेषण गर्नुहुन्न । विहारहरुले पनि कतिपय काम राम्रा पनि गरेका छन् ।

त्यसको सराहना गर्न सक्नुपर्छ । केही कामहरुमा ढिलाई भएका छन्, ती कामहरु समयमै गर्न र सही ढंगले गर्नका लागि हामीले उत्प्रेरणा दिने काम हाम्रो तर्फबाट हुनुपर्छ । विदेशी पर्यटकहरुलाई लुम्बिनी आउने वातावरण बनाउनका लागि विहारहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । विहारलाई होटल जस्तै गरी व्यवसायिक बनाउन खोजियो भन्ने कुरामा चाहिँ हामीले यसको अनुगमन गर्छौं । कतै गलत कुराहरु फैलाइएका हुनसक्छन् । कतै सही पनि हुनसक्छन् । त्यसलाई ठीक बाटोमा हिड्न र नियमहरु पालना गर्न हामीले झक्झक्याउने हो । विदेशीहरुले बनाएका विहारमा आएर विदेशी बसे भन्ने कुरामा चाहिँ म के भन्छु भने उनीहरुलाई बस्नकै लागि बनाएको विहारमा उनीहरु बसे भनेर आलोचना गर्नु ठीक होइन । जस्तो थाईल्याण्डबाट आएका भिक्षुहरु वा पर्यटक त्यहीँअनुसारको वातावरण यहाँ चाहन्छन्, हामीकहाँ त्यस्तो विविधता भएका र उनीहरुको स्तर मिल्ने खालका होटलहरु बनिसकेका छैनन् ।

त्यसैले पनि हामीले अहिले पर्यटकलाई सहज हुने वातावरण बनाउनुपर्छ । पछि हामीकहाँ राम्रा र विविधता भएका होटलहरु खुल्दै गए भने बस्ने उनीहरु नै हुन् । हामी विविधता दिन र राम्रा होटलहरु सञ्चालन गर्न तर्फ लागौं । साँच्चै भन्ने हो भने भैरहवा विमानस्थ लबनेर सकिएपछि हामीकहाँ चीनबाट पर्यटकहरु आउन थाले भने लुम्बिनीमा बस्ने ठाउँ नै हुनेछैन । हामीले यतातिर सोंचेर काम गर्नुपर्छ । आलोचना मात्रै गर्ने काम नगर्ने गर्दा हामी बिग्रिएका छौं । हाम्रो होटल स्तरीय बनाउँदैनौं अनि विहारले यसो ग¥यो र उसो ग¥यो भनेर आफुकहाँ ती मान्छे आइदिए हुन्थ्यो भन्छौं । अनि उनीहरु कसरी आउन सक्छन् । अर्को कुरा विहारहरुमा त हामी नेपालीहरु, अझ स्थानीयले नै रोजगार पाएका छन् । जहाँसम्म नियम कानुनको कुरा छ, त्यो जोसुकै भएपनि पालना गर्नुपर्छ, हामीले लागू गर्छौं ।

विकास कोष लामो समयसम्म विवाद र समस्यामा फस्यो, अहिले पनि उस्तै हो कि सुध्रियो ?
हो, केही अघि सम्म विवादैविवाद खडा भयो । यसले कसैलाई राम्रो गर्दैन । लुम्बिनी अन्तरराष्ट्रिय आस्थाको केन्द्र हो । यो पवित्र स्थलको विकास गर्न, व्यवस्थित गर्न बनेको कोष नै विवादमा फस्नु हुँदैनथ्यो । आगामी दिनमा यहाँका नकारात्मक कुराहरु बाहिर जानुहुन्न । हाम्रा आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्नुपर्छ । प्रोपोगाण्डामा नलैजाउँ । कोषमा १०–१५ वर्षदेखि नै समस्या थियो । यसलाई समाधान गर्न चासो देखाइएको थिएन वा सकिएको थिएन, अहिले यो समाधान भएको छ । कर्मचारीहरु र पदाधिकारीबीच सहमति भएको छ । कर्मचारीका जायज मागहरु सम्बोधन भएका छन् । अब त्यसरी विवादमा फस्दैन । हामी मिलेर काम गर्छौं ।

कोषमा कसैले कसैलाई टेर्दैनन्, मनमौजी चल्छन् भन्ने चर्चा चल्छ नि बेलाबेलामा, त्यो पनि समाधान भयो त ?
कोषमा खासमा एउटाले अर्काको अस्तित्व नै नस्वीकार्ने रोग थियो । चेन अफ कमाण्ड नमान्ने प्रवृत्ति थियो । म आउँदा पनि थियो यो समस्या । म आएर विकास कोष, यहाँका अरु पदाधिकारीहरु, कर्मचारीहरु, मन्त्रालयका कर्मचारीहरुको बानी व्यवहार र शैली बुझ्नै १० महिनाजति लाग्यो । लुम्बिनीको बारेमा मैले २०४८ सालदेखि नै चासो राख्दै काम गरेको भएपनि कोषको बारेमा भित्री कुराहरु मलाई थाहा थिएन । यस्तो होला भन्ने लागेको पनि थिएन । यसबीचमा सबैबीचमा तालमेल मिलेको छ । एउटा समझदारी भएको छ । राजनीतिक नियुक्तिबाट आएकाले पनि फरक फरक स्वभाव र विचार भएको होला । तर मेरो नियुक्ति राजनीतिक भएपनि म राजनीतिक व्यक्तित्व होईन । म लुम्बिनीका लागि काम गर्नुपर्छ भन्ने मान्छे हो ।

राजनीतिक नियुक्तिका कारणले लुम्बिनीको विकासमा बाधा पुगेको हो ?
त्यो पनि केही हदसम्म हुनसक्छ । तर राजनीतिक व्यक्तित्व भन्दा लुम्बिनीसँग सरोकार राख्ने व्यक्तिलाई यहाँ पठाउनुपर्छ । राजनीतिक नियुक्ति हटाउनका लागि त सरकारले नै ध्यान दिनुपर्ने हो । स्वच्छ छविको मान्छे, जो लुम्बिनीको विकास होस् भन्ने चाहन्छ त्यस्तो मान्छेलाई लुम्बिनीमा पठाउँदा नै राम्रो हुन्छ ।

लुम्विनि टाइम्सवाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्