मुख्य समाचार

दुर्घटनाका घाइतेलाई १५ लाख उपचार खर्च

By थाहा अनलाइन

December 28, 2018

यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने र मृतकका परिवारको माग गर्ने बीमाबाहेक लाग्ने थप खर्च यातायात समितिहरुले बेर्होर्दै आएका छन् ।

तर, नयाँ म्यादअनुसार यातायात समितिहरु फागुन मसान्तपछि सबै कम्पनीमा परिणत हुनेछन् । कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ ।

विभागले दुर्घटनामा मृत्यु भएका परिवार, घाइते तथा गम्भीर घाइतेको उपचारमा लाग्ने खर्चको बीमांक रकम दोब्बर बनाउन चाहेको छ । यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाइएको छ ।

विभागले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमाबापतको रकम १० लाख बनाउन प्रस्ताव गरेको छ । हाल यस्तो क्षतिपूर्ति रकम ५ लाख रुपैयाँमात्रै छ ।

यस्तै घाइतेको उपचारका लागि बीमा कम्पनीले ६ लाखसम्म बेहोर्ने गरी बीमा रकम बढाउन प्रस्ताव गरिएको विभागका महानिर्देशक लावण्य ढकालले अनलाइनखबरलाई बताए । हाल सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ३ लाख रुपैयाँ खर्च मात्रै बीमा कम्पनीले बेहोर्ने गरेका छन् ।

अब दुर्घटनामा परेर टाउको तथा नसा सम्बन्धी गम्भीर बिरामी भएकाहरुको उपचारमा १५ लाखसम्म बीमा कम्पनीबाटै खर्च गर्ने गरी नयाँ बीमा नीति बनाउने विभागको प्रस्ताव छ ।

‘गम्भीर बिरामीको उपचारमा समस्या नआओस् भनेर १५ लाखसम्मको उपचार गर्ने गरी नयाँ नीति लिँदैछौं,’ ढकालले भने, ‘मन्त्रालयबाट सहमति आएपछि हामी बीमा समितिमा पठाउँछौं । त्यसपछि बीमा पोलिसी परिवर्तन गरेर यसलाई लागू गर्छौं ।’

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि यस विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ । नेपाल इन्स्यारेन्सका सीईओ विजयबहादुर शाहको संयोजकत्वमा गठित समिति अध्ययनकै क्रममा छ ।

समितिमा एनएलजी, प्रुडेन्सियल, नेको र लुम्बिनी जनरलका सीईओहरु सदस्य रहेका छन् भने समितिका उपनिर्देशक सुशीलदेव सुवेदी सदस्य सचिव छन् । प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।