बलराम बुढाथोकी
बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले दाङको घोराहीमा जर्मन प्रविधिद्वारा निर्मित झ्याल ढोका निर्माण गर्ने भवन संसार मेटेरियल इन्ड्रष्टी सञ्चालनमा ल्याउने भएका छन् । स्थानीय दुई युवाहरु मिलेर यो मेटेरियल इन्ड्रष्टी सञ्चालनमा ल्याउने भएका हुन् । युवाहरुले दाङको घोराहीमा आधुनिक जर्मन प्रविधिबाट बनाइएका घर तथा अपार्टमेन्टलाई आवश्यक पर्ने झ्याल तथा ढोकाहरुका समग्री निर्माण गर्ने र सप्लाई गर्ने जानकारी दिएका छन् ।
यो उद्योग सञ्चालन हुने भएपछि अब दाङमा निर्माण हुने घर तथा अपार्टमेन्टमा अवश्यक पर्ने झ्याल ढोकाका सामग्रीहरु सहज रुपमा पाइने भएको छ । करिव एक करोड ५० लाख रुपैयाँ लगानीमा भवन संसार मेटेरियल इन्ड्रष्टी सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढीरहेको इन्ड्रष्टीका सञ्चालक सुरेश बस्नेत र विनोद पुनले जानकारी दिएका छन् । उनीहरुले कम्पनी सञ्चालन गर्नको लागि आवश्यक कागजातहरु र कम्पनी दर्ता गर्ने कार्य अगाडी बढी रहेको जानकारी दिएका हुन् ।
कोरियामा ५ वर्ष सम्म यस्तै सामग्री उत्पादन गर्ने कम्पनीमा काम गरेर स्वदेश फर्किएका बस्नेतले आफ्नै देशमा यही काम गर्ने र केही नेपालीहरुलाई जागिर समेत दिने बताएका छन् । ‘मैले कोरियामा विगत ५ वर्ष यस्तै यूपीभीसी झ्याल ढोका बनाउने कम्पनीमा काम गरेका थिए । त्यहीँबाट मलाई यो उद्योग सञ्चालन गर्ने मनसाय भएको थियो ।’ उनले भनेका छन् ।
त्यस्तै जर्मन प्रविधिबाट बन्ने यी यूपीभिसी झ्याल तथा ढोकाहरु वर्र्षैं टिक्ने पनि जानकारी दिएका छन् । घाम तथा पानीले केही गर्न नसक्ने, बाहिरको आवाज भित्र नजाने र सस्तो तथा आकर्षक हुने जनाइएको छ ।
अहिले सुरुवाती चरणमा दुईजनाको सहकार्यमा यो उद्ययोग सञ्चालन गर्ने र पछि आवश्यकता अनुसार साथीहरुलाई पनि सहभागी गर्ने योजना रहेको छ । उद्योग सञ्चालन गर्नको लागि आवश्यक कुराहरुको व्यवस्थापन गरिरहेको बस्नेत र पुनले जानकारी दिएका छन् । ‘कतिपय नेपाली दाजुभाईहरु केही पैसा कमाएर सहर बजारमा घर बनाएर बस्न चाहान्छन् ।
अनि फेरि विदेशमा नै काम गर्नको लागि जान्छन् । यसले देशको आर्थिक बृद्धिमा सहयोग गर्दैन । हामीले एउटा नयाँ कार्य गर्न लागेका छौं, यो तपाई हामी सबैको साझा कार्य हो । तपाई हाम्रो सहकार्य भयो भने हामीलाई काम गर्न सहज हुने छ ।’ उनीहरुले भनेका छन् । त्यस्तै उनीहरुले आवश्यकता अनुसार सप्लाई पनि गर्ने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।