सम्बन्धमा विच्छेदको नकारात्मक पक्षतर्फ राज्यको ध्यान पुग्न जरुरी



 

निशा तामाङ,

सम्बन्धमा विच्छेद ! सम्बन्ध भइसकेपछि टाढिनु पर्ने स्थिति आइपरेको अवस्थालाई सम्बन्ध विच्छेद भन्ने गरिन्छ । जब मानिसको दाम्पत्य सम्बन्धमा समस्या सुरु हुन्छ, सम्बन्ध विच्छेदको प्रक्रिया त्यहीँबाट प्रारम्भ हुन्छ । मानिस सबै स्वतन्त्रता चाहन्छन् । स्वतन्त्रपूर्वक बाच्ँन चाहन्छन् ।

स्वतन्त्रपूर्वक बाचिँरहेका महिला तथा पुरुष जब वैवाहिक सम्बन्धमा बाधिँने गर्दछन्, दम्पतिहरू सुरुमा खुशी नै हुन्छन् । तर सबै दम्पतिहरू खुशी हुन्छन् भन्न सकिन्न । नयाँ जीवनको शुरुवात गर्ने दम्पतिहरूको जीवनमा जब उतारचढाव र सुःख दुःख झेल्न समस्या आइपर्न थाल्छ तब द्वन्द सुरु हुन्छ ।

त्यसबेला सम्बन्धमा चिसोपना आउन थाल्दछ । नचाहँदा नचाहँदै पनि दम्पतिहरू आफ्नो दाम्पत्य सम्बन्धबाट छुटकाराको चाहाना राख्न पुग्दछन् । अनन्तः उनीहरू अदालत समक्ष सम्बन्ध विच्छेद गर्न मुद्वाको प्रक्रियामा प्रवेश गर्दछन् ।

कुनै कुनै दम्पतिहरूमा सम्बन्ध विच्छेदको अवस्था आउनु पूर्व भौतिक आक्रमण र आरोप प्रत्यारोपका घटना पनि हुने गरेको पाइन्छ । तर दम्पति यस्ता पनि देखिएका छन विच्छेद पछि मिलन समेत भएको देखिन्छ ।

दाम्पत्य सम्बन्धलाई कानुनी रूपमा अदालतमा गएर टुङ्गयाउनुलाई सम्बन्ध विच्छेद भनिन्छ । अदालती प्रक्रियाबाट सम्बन्ध नटुङ्गिदासम्म सम्बन्ध विच्छेद भएको मानिदैन । हाम्रो नेपाली समाजमा पनि सम्बन्ध विच्छेद बढ्दै गइरहेको पाइन्छ ।

प्रायः विवाह गरेको दशवर्ष भित्रमा नै बढी सम्बन्ध विच्छेदहरू हुने गरेको पाइएतापनि हालका दिनहरूमा सम्बन्ध विच्छेद फेसन जस्तै भइसकेको छ ।

समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको पाइन्छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति फेसन जस्तै बनिसकेको छ । यही कारणले गर्दा अदालतमा सम्बन्ध विच्छेदका मुद्वा दिनप्रतिदिन बढ्दै गइरहेको पाइन्छ ।

कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको चाहनामा अवरोध सृजना भएको महशुस गरी सामान्य विषयमा पनि एकआपसमा समन्वय, सहकार्य समझदारी र विश्वास गर्न नसकेर सम्बन्ध विच्छेदको बाटो अपनाइरहेका पाइन्छन् ।

हुन त सम्बन्ध विच्छेद पछि पुरुष र महिला दुवै दोश्रो विवाह गर्न कानूनी रूपमा स्वतन्त्र मानिन्छन् तर सामाजिक परिवेशले गर्दा महिलाको अवस्था ज्यादै चुनौतीपूर्ण हुन पुग्दछ । दोश्रो विवाहलाई हाम्रो नेपाली समाजमा सहजतापूर्वक स्वीकार गरिहाल्ने अवस्था विकसित भएको छैन ।

यो पक्ष सुधारोन्मुख अवस्थातिर जाँदै गरेको पाइन्छ । पति पत्नीबीच समझदारी नभएपछि सम्बन्ध विच्छेद नै स्वाभाविक हुन सक्ला । दिनहुँको यातनाले दिक्क बनेका दम्पति संगै बस्नु भन्दा अलग भएकै राम्रो पनि हो । सम्बन्ध विच्छेदले पति पत्नीबीचको द्वन्दको समस्या समाधान भएपनि महिलाको समस्या जटिल बन्ने र छोराछोरीको बिचल्ली सुरु हुन्छ ।

बुवा आमाबीचको सम्बन्ध तोडिएपनि बच्चाको हकमा उनीहरूको साझा दायित्व बन्नु पर्ने अवस्थामा देखिदैन । कतै आमाले त कतै बुवाले मात्र बच्चाको जिम्मेवारी सम्हालेको पाइन्छ ।

बुवाले दोश्रो विवाह गरी सन्तान उत्पादन पनि सुरु गरेको समाजमा देखिन्छ भने आमाको हकमा यो अवस्था त्यति सहज पाइदैन । बच्चाहरूको स्याहार गर्नु र पठनपाठनको व्यवस्था गर्नु आमाको विशेष दायित्व बन्न गएको देखिन्छ ।

हाम्रो नेपाली समाजमा यो अवस्था सबैभन्दा विभेदपूर्ण छ । तर कतिपय विकसित मुलुकहरूमा बुवाले नै बच्चाहरू र सम्बन्ध विच्छेद भएकी पत्नीको सबै खर्च बेहोर्नुपर्ने कानूनी प्रावधान भएको पाइन्छ ।

अरूको अधीनमा बस्नुभन्दा स्वतन्त्र बस्ने चाहनामा पनि वैवाहिक सम्बन्ध तोडिन्छ । श्रीमान–श्रीमतीकोे स्वतन्त्र बस्ने चाहना पूरा भएपनि उनीहरूको सम्बन्ध विच्छेदले छोराछोरीहरूको भविष्य चिन्ताजनक हुन पुग्ने कुरामा ध्यान पुगेको पाइदैन । बच्चाहरू बुवा आमा दुवैका साझा हुन् । उनीहरू प्रति दुवैको दायित्व त्यतिकै महत्वपूर्ण हुन्छ । यो सवालमा राज्य पक्षले केही कानूनी प्रावधान बनाउन आवश्यक छ । samarianisu@gmail.com- जनधारणा साप्ताहिक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्