तुलसीपुरमा आर्थिक विकास सम्मेलन



दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय तहमा आर्थिक विकासको सम्भावना पहिल्याउनका लागि आइतवार आर्थिक विकास सम्मेलन गर्दैछ । सम्मेलनमा विभिन्न विज्ञहरुले तुलसीपुरको आर्थिक सम्भावनाका वारेमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नगर प्रमुख घनश्याम पाण्डेले वताए । नगरप्रमुख पाण्डेले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई लिएर आयोजना गरिएको सम्मेलनमा आर्थिक विकासका सम्भावना पहिल्याएर तुलसीपुर आर्थिक विकास घोषणा पत्र समेत सार्वजनिक गरिने जानकारी दिए ।

तुलसीपुरको विएसएस पाटी प्यालेसमा आयोजना हुने कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले स्थानीय तहको आर्थिक विकासका लागि प्रदेश सरकारको भुमिका विषयमा अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ५ नम्वर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रदेश सरकारको स्थानीय आर्थिक विकास सम्वन्धि रणनीति र सोचबारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने स्थानीय तहका विज्ञ वावुराम रानाभाटले तुलसीपुरको आर्थिक विकासका सम्भावना र रणनीति बारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।


विहान १० वजेदेखि सुरु हुने कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापनका सम्भावना वारे विज्ञ विष्णु पुरीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन आयोजक समितिका संयोजक माधव वलीले जानकारी दिए । संयोजक वलीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले स्थानीय आर्थिक विकासको अवधारणाका वारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । स्थानीय तहमा पहिलो पटक यसप्रकारको कार्यक्रम आयोजना गर्न लागिएको वताउँदै नगरप्रमुख पाण्डेले सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

उनले कार्यक्रम विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति हुने र त्यसबाट आर्थिक आधारहरु पहिल्याउने मद्दत पुग्ने विश्वास लिएको समेत वताए । ‘तुलसीपुरमा आर्थिक विकासको सम्भावनाका साथै लगानी भित्र्याउनका लागि कार्यक्रम फलदायी रहनेछ ’ नगरप्रमुख पाण्डेले भने । आर्थिक विकासको सम्मेलन गर्ने कुरालाई उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा राखेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्