होटलमा बन्धक बनाईएका दाङ सहित सात जिल्लाका महिलाको उद्धार



सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो । केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।

नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ ।

भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ ।

मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजाराँै महिला तथा किशोरी परेका छन् । रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले दुःखकष्ट भोगिरहेका छन् ।

बढ्दो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्नसक्ने सम्भावना उच्च रहेकाले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्