मन्त्री बस्नेतका प्रतिबद्धता पूरा भएपछि स्थानीय दङ्ग



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेको बताएका छन्।

मन्त्री बस्नेतले गरेको प्रतिबद्धता पूरा भएपछि जाजरकोट कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणकार्य थालिएको १२ वर्ष पुग्दासम्म वर्षेनी सडक खन्दै पुर्दै गर्दा विकास नभएको भनी तीव्र आलोचना भएका बेला मन्त्री बस्नेतले पटक–पटक स्थलगत रूपमा अवलोकन गरी केन्द्रबाट पठाएको बजेट सदुपयोग र काममा निगरानी गरेपछि अहिले एक वर्षभित्र यातायात सञ्चालनमा आएको कुशेगाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपाली बताए।

एक हप्तादेखि जाजरकोट कुशेगाउँपालिकाको थर्पुमा बस सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन्।

जाजरकोट शिवालय गाउँपालिकाको छेडाचौरदेखि थलहबजार–ढुङ्गील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिका–६ थर्पुसम्म सडक निर्माण गर्न थालिएको १२ वर्षपछि बस सञ्चालनमा आएसँगै अब यहाँको जीवनस्तर माथि उठ्ने विश्वास लिएको नेपालीले बताएका छन् ।

उत्पादन क्षेत्र, बाक्लो मानवबस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थललगायत स्थानसम्म छिटोभन्दा छिटो सडक पुर्याउने लक्ष्यअनुसार काम भइरहेकाले निरन्तर अनुगमनदेखि गुणस्तरसम्मका काम हेरफेर भइरहेको सांसद गणेशप्रसाद सिंहले बताए। कुशेगाउँपालिकामा सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीको भण्डारका रूपमा चिनिन्छ ।

जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने दिनको अन्त्य भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्