अन्तर्राष्ट्रिय

७२ वर्षको वियोगपछि भेटे पतिले पत्नी, आँसु बरर

By थाहा अनलाइन

December 30, 2018

काठमाडौं — भारतको केरलका ईके नारायणन नाम्बियारको जिन्दगी कुनै फिल्मी कथाभन्दा कम छैन । बिहेको केही महिनापछि नै किसान आन्दोलनमा भाग लिएका नाम्बियारले पत्नीको साथ गुमाए ।

तर नारायणनको जिन्दगीको कथा त्यहीँ सकिएन । उनले बिछोडको ७२ वर्षपछि पहिलो पत्नी शारदासँग भेटघाटको मौका पाए ।

उनलाई पात्र बनाएर उनकी भतिजी सन्था कवुमबाईले एक ऐतिहासिक उपन्यास लेखिन् ।

सन्थाले उपन्यास डिसेम्बर ३० नामक उपन्यासमा नारायणन र शारदाको उल्लेख गरेकी छन् । तर यो जोडीको दशकौंपछिको भावुक मिलनपछि अर्को एक उपन्यास लेख्नुपर्ने भएको उनको भनाइ छ ।

विवाहको बेलामा १८ वर्षका थिए र शारदा १३ वर्षकी थिइन् । देशमा त्यतिखेर बेलायती शासनविरुद्धको संघर्ष चरममा थियो  र किसानहरू सामन्त र जमीनदारविरुद्ध जुटिरहेका थिए ।

सन् १९४६ को डिसेम्बर २९ मा नारायणन आफ्ना पिता थालियान रामन नाम्बियार र सयौं किसानका साथ स्थानीय जमीन्दारको घरमा पुगे । जमिन्दारले उनीहरूमाथि गरेको अत्याचारको बदला लिन उनीहरू चाहिरहेका थिए ।

तर उनीहरूले केही गर्नुअघि नै प्रहरीले उनीहरूमाथि गोली चलायोे र पाँचजनाको मृत्यु भयो । नारायणन र उनका पिता त्यहाँबाट भाग्न सफल भए अनि लुके ।

तर प्रहरीले उनीहरूको घरमा छापा मारेर घरका महिलामाथि अत्याचार ग–यो । उनीहरूका बारेमा केही थाहा पाइन्छ कि भनी प्रहरीले यातना दियो । शारदा एकदमै सानी हुनाले प्रहरीले उनलाई छोडिदियो ।

घटनापछि नारायणनका परिवारले शारदालाई माइत पठाए । तर प्रहरी नारायणनको घरमा लगातार दुई महिनासम्म आइरह्यो र अन्ततोगत्वा नारायणन तथा उनका पितालाई पक्राउ गरेर कारागारमा कोचिदियो ।

सन् १९५० मा नारायणनका पिता रामनलाई जेलभित्रै गोली हानेर हत्या गरियो । नारायणनलाई पनि १६ वटा गोली लाग्यो तर उनी बाँचे । उनी मरेको हल्ला चाहिँ चल्यो ।

सन्था भन्छिन्, ‘काकीलाई पति जीवितै छन् भन्ने कुराको अन्दाजै भएन । उनलाई जबर्जस्ती अर्कै व्यक्तिसँग बिहे गरियो । काका जेलबाट बाहिर आएपछि उनको पनि बिहे अन्तै गराइयो ।’

एक दिन सन्थाको भेटघाट शारदाका छोरा भार्गवनसँग भयो । त्यसपछि उनलाई दुईजनाको भेटघाट गराउनुपर्छ भन्ने लाग्यो । शारदा र नारायणनले एकअर्कालाई प्रेमपूर्वक याद गर्ने गर्थे ।

पछि सबैजना मिलेर उनीहरूलाई डिसेम्बर २६ मा भेटघाट गराए । अनि ७२ वर्षको लामो बिछोडपछि उनीहरूको भेट भार्गवनको घरमा भयो । दुवैले भेटघाटका क्रममा बरर आँसु झारिरहे ।

एजेन्सी