प्रहरीको जागिर छोडी ,खतरनाक अपराधी



काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले शनिबार नेपाल प्रहरी र नेपाली सेनाको जागिर छोडी अपराधमा संलग्न सहित ३ जना पक्राउ गरेको छ । केदारप्रसाद अधिकारी, अर्जुन प्रसाद अधिकारी र अन्जन उप्रेती छन् । यीमध्ये केदारप्रसाद अधिकारी पहिले प्रहरी थिए । प्रहरीको जागिर छाडेर उनी सेनामा भर्ती भएका थिए । पछि सेना पनि छाडेर अपराधी बनेका हुन् ।

केदारप्रसाद अधिकारी धादिङ जिल्ला गल्छी घर भइ हाल काठमाडौं कलंकीमा बस्दै आएका थिए । उनले नेपाल प्रहरीमा २ वर्ष जागिर खाई भागी पुन नेपाल सेनामा भर्ती भएर तीन वर्ष जागिर खाएर भागेका थिए ।

उनीसँगै पक्राउ परेका धादिङ गल्छी घर भई हाल कलंकी काठमाडौं बस्ने अर्जुन प्रसाद अधिकारी दुईपटक सार्वजनिक अपराधमा सजाय पाइसकेका पटके अभियुक्त हुन् । उनीहरुसँगै काभ्रे जिल्ला भुम्जु गाउपालिका ८ घर भई हाल चावहिल बस्ने अन्जन उप्रेती पनि पक्राउ परेका छन् । उप्रेती गुण्डा नाईके कुमार घैंटेको सहयोगी भई अपराधिक क्रियाकलापमा संलग्न थिए ।

 

तीनै जना अपराधीहरुलाई शनिबार साँझ साढेसात बजे जडिबुटी स्थित गणेशमाया श्रेष्ठको घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिहरु हातहतियार सहित लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिएका हुन् ।

 

अपराधीहरुलाई प्रहरी प्रभाग कोटेश्वर प्रमुख एलिजा गिरिको नेतृत्वमा खटिएको टोलीले ठूलो चाइनिज पेस्तोल १ थान, १ राउन्ड गोली र खुकुरी एक थान सहित पक्राउ गरेको थियो । तिनै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा ल्याएको छ । अपराधी विरुद्ध हातहतियार तथा खरखजानामा मुद्दा दर्ता भइ थप अन्नुसन्धान भइरहेको प्रहरी प्रवक्ता वोगटीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्